कालोबजारीलाई कारवाही गर्दा – म्याग्दीका प्रजिअ पाठकको सरुवा
विकल्प न्यूज
म्याग्दी फागुन २१ गते ।
गृह मन्त्रालयले म्याग्दीका प्रमुख जिल्ला अधिकारी साठरमणी पाठकलाई आकस्मीक रुपमा सरुवा गरेको छ ।
मन्त्रालयले उपसचिव केशव आचार्यलाई म्याग्दीको प्रमुख जिल्ला अधिकारीको रुपमा पठाएको छ । पाठकलाई तराई क्षेत्रमा सहायक प्रजिअको रुपमा खटाइने जानकारी आएपनि जिल्ला ठोस भैसकेको छैन् ।
‘मेरो तराईको जिल्लामा सरुवा भयो । भोलीनै जान्छु’ प्रजिअ पाठकले शुक्रबार दिउँसो कार्यकक्षमा पत्रकारहरुसंग निराश हुदै भन्नुभयो ‘मेरो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ।’
पाठकले शुक्रबार बिहान कार्यालय समय सुरु भएपछि मात्रै आफ्नो सरुवा भएको जानकारी पाउनुभएको थियो । शनिबारनै जिल्ला छाडेर जान लाग्नुभएका उहाँलाई शुक्रबार दिउँसो कर्मचारी मिलन केन्द्रले आकम्सीक रुपमा कार्यक्रम आयोजना गरेर बिदाई गरेका छन् ।

अबैध रुपमा घर, पसलबाट पेट्रोलीयम पदार्थको ब्यापार गरेको आरोपमा तिन जना यातायात ब्यवसायीलाई कालोबजारी ऐन अन्तरगत जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको भोलीपल्टै प्रजिअको सरुवा भएपछि कर्मचारी क्षेत्रमा तरङ्ग उत्पन्न भएको छ ।
प्रहरीले बुधबार घर, पसलमा राखेको डिजेल र पेट्रोल सहित पक्राउ गरेका व्यक्तिलाई मुद्दा चलाउने नचलाउने विषयमा भएको बिवादनै प्रजिअको आकम्मीक सरुवाको कारण बनेको स्रोतले जनाएको छ ।
प्रहरीले बुधबार गलेश्वरका मोहन केसी, लक्की केसी र कालीपुलका यज्ञराज थापा (बिजय)को घर तथा ग्यारोजबाट तिन सय लिटर डिजेल र १४५ लिटर पेट्रोल समेत नियन्त्रणमा लिएको थियो ।
मोहन केसीले तिन हजार, लक्की केसीले पाँच हजार र थापाले २९ हजार रुपैया धरौटी बुझाएर बिहीबार साँझ रिहा भएका थिए । प्रहरी र प्रशासनमाथी उनिहरुलाई कारबाही प्रक्रिया अघि बढाउन हुने र नहुने पक्षको दोहोरो दवाव परेको थियो । राजनितिक र ब्यवसायीक दवावको प्रवाह नगरी मुद्दा दर्ता गराएकाले सरुवा गरेको एकाथरीको प्रतिक्रिया छ ।
अर्काथरीले भने कालोबजारी मुद्दा चलाउने पक्षमा नरहेका प्रजिअले ईच्छा विपरीत दवावमा मुद्दा दर्ता गरि पक्राउ परेकालाई घरौटीमा छोड्नुपरेपछि आफैले सरुवा मागेको अथवा मन्त्रालयले सरुवा गरेको विश्लेषण गरेका छन् । प्रजिअ पाठक गत असार पहिलो साता बैतडीबाट म्याग्दीमा सरुवा भएर आउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्