यसरी भयो कल्लेनीमा क्याम्पिङ र खानेपानी आयोजनाको उद्घाटन
सन्तोष गौतम/विकल्प
म्याग्दी,फागुन २१ गते ।
म्याग्दीको मराङ –३ कल्लेनीमा निर्माण भएको पर्यटकीय क्याम्पिङ साईट र खानेपानी आयोजनाको उद्घाटन गरिएको छ ।
राउण्ड धौलागिरी पदमार्गमा जाने पर्यटकको सुविधाको लागि स्थानीयबासीले करिब रु २ लाख लगानीमा क्याम्पिङ साईट बनाएका हुन् । राउण्ड धौलागिरी पदमार्ग हुँदै भम्रणमा आउने पर्यटकहरु बस्नको लागि समस्या भएपछि समुदायको अगुवाईमा भिरालो पाखो सम्माएर क्याम्पिङ क्षेत्र निर्माण गरिएको हो ।
त्यस्तै, खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयको सहयोगमा निर्माण भएको खानेपानी आयोजनाबाट कल्लेनीका २५ घरधुरी लाभान्वित बनेका छन् । दुबै योजनाको विहिवार स्थानीय विकास अधिकारी चिरञ्जीवि पौडेलले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी पौडेलले म्याग्दीको सम्भावनालाई विकास गरि स्थानीय बासीको जिवनस्तरमा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाल, खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयका इन्जीनियर शेखरचन्द्र केसी, धौलागिरी पर्यटन विकास परिषदका अध्यक्ष अमर बानीयाँ लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा पूर्व क्षेत्रीय सभापती खुमनाथ सुवेदी, जनविकास निमावि मराङका प्रअ भूवानी सुवेदी, वडा नागरिक मञ्च कल्लेनीका संयोजक खगिन पुन, मराङमा क्रियाशिल राजनितिक दलको तर्फबाट नेपाली काँग्रेसका कविराज केसीले मन्तव्य राख्नुभएको थियो ।
मराङ गाविस सचिब बुद्धिप्रसाद शर्माको अध्यक्षता र जनविकास माविका प्रअ हरिप्रसाद लामिछानेको स्वागतमा सम्पन्न कार्यक्रमको कल्लेनी प्राविका प्रअ भेषनाथ गौतम र स्थानीय युवा द्धिब्य पुनले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा हाँस्यकलाकार रवि कार्की र जनविकास माविका विद्यार्थीहरुको विविध साँस्कृतिक प्रस्तुती रहेको थियो । उक्त कार्यक्रममा जनविकास माविबाट एसएलसी परिक्षामा सहभागि हुन लागेका विद्यार्थीहरुलाई सम्मान सहित विदाई गरिएको थियो । हिलापोखरीको नौमती बाजा समूहले बाजागाजा बजाएर रमाईलो बतावारण बनाएको कार्यक्रममा मराङको पुख्यौली समूहले पुख्यौली नाच प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया राख्नुहोस्