यी हुन बेनीबजारवासीहरु जसले दैनिक जसो कालीगण्डकी नदी किनारमा फोहोर फाल्छन्
विकल्प न्यूज/बेनी
फागुन २० गते ।
बेनी बजारका गल्ली सडक त सफा छन् । दैनिकजसो बेनीबजारका स्थानीयवासीहरुले आफ्नो घर अगाडीको सडक गल्लीलाई सफा पार्दछन् । तर संकलित फोहोर उनीहरुले कालिगण्डकी नदी किनारमा फाल्ने गर्दछन् । संकलित भएको फोहोर पवित्र कालीगण्डकी नदि किनारमा फाल्ने गर्दा नदि किनार प्रदुषित भएको छ ।

बेनी नगरपालिका,जिविस र खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय म्याग्दीको हालै मात्र गरेको संयुक्त अनुगमनले कालिगण्डकी नदी किनारमा फोहोर फाल्नेहरुको पहिचान गरेको हो । 
अनुगमनका क्रममा बेनीबजारको गणेश टोल स्थित नेपाल विद्युत प्राधिकरणको कार्यालय पछाडी देखि म्याग्दी जेसीजको कार्यालय सम्मको भागको नदी किनार सम्म फोहोर फाल्ने गरेको भेटिएको हो । उक्त नदि किनारमा फोहोर थुप्रिएको छ । फोहोरले नदी किनारलाई प्रदुषित बनाएको छ ।
पुरानो शिक्षा कार्यालय रहेको घर देखि माथि म्याग्दी उद्योग वाणिज्य संघको कार्यालय आसपासका घरहरु हुँदै शिखर होटल सम्म वसोवास गर्ने बेनी बजारवासीहरुले तल्लो भागमा रहेको कालगण्डकी नदीमा दैनिकजसो फोहोर फाल्ने गरेका छन् । शिखर होटल देखि माथि गणेशटोल सम्मका घरहरुले पनि नदीमा फोहोर फाल्ने गरेको भेटिएको हो ।

नेपाल विद्युत प्राधिकरण कार्यालय रहेको आसपासका घरहरुमा वस्ने स्थानीयवासीहरुले पनि कालिगण्डकी नदि किनारमा फोहोर फाल्ने गरेको बेनी नगरपालिकाले जनाएको छ । उनीहरुलाई अवआइन्दा नदि किनारमा फोहोर नफाल्न चेतावनी समेत दिइएको जनाएको छ ।

यसै गरी बेनी देखि पर्वत बेनी सँग जोड्ने झोलुङगे पुलबाट नदि किनारमा फोहोर फाल्ने गरेको भेटिएको छ । झोलुङगे पुलको आसपासमा रहेका घरहरुमा जम्मा भएको फोहोर नदीमा फाल्ने गरेको भेटीएको छ ।
प्रतिक्रिया राख्नुहोस्