नेपाल मगर संघ म्याग्दीको छैठौ जिल्ला अधिवेशन सुरु
सन्तोष गौतम/विकल्प
म्याग्दी,फागुन १५ गते ।
नेपाल मगर संघ म्याग्दीको छैठो जिल्ला अधिवेशन शनिबारदेखि सदरमुकाम बेनीमा सुरु भएको छ । ३४ औ मगर दिवसको अवसरमा आयोजित जिल्ला अविधेशनका पशुपंक्षी विकास राज्यमन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभयो । राज्यमन्त्री पुनले नयाँ संबिधानले मगर लगायत आदीवासी जनजातीहरुको हक अधिकार समावेशी ब्यवस्था मार्फत सुरक्षित गरेको बताउनुभयो ।
राज्यमन्त्री पुनले मगर समुदाय संबिधानले दिएको अधिकार उपभोग गर्न अग्रसर र सक्षम बन्नुपर्नेमा जोड दिनुभयो । यसैगरी उहाँले भाषा, धर्म, भेषभुषा, संस्कृती नेपालको राष्ट्रिय पहिचान भएकाले त्यसको संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभयो । राज्यमन्त्री पुनले जातीय, धार्मीक सद्भाव कायम गर्दै संबिधान कार्यान्वयनमा जुट्न आग्रह गर्नुभयो ।
यसैगरी नेपाल मगर संघका केन्द्रिय सदस्य तेजेन्द्र थापा मगरले मगर समुदायको हकअधिकारको रक्षा र कला, संस्कृतीको संरक्षणका लागि एकताको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस बेनी नगर सभापति अनोद श्रेष्ठ, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य रामप्रसाद सुवेदी, एकिकृत नेकपा माओवादीका अध्यक्ष चन्द्रबहादुर घिमीरे र राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष नरबहादुर थापाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्य, नेपाल भाषा मंका खलका कुबिर कुमार श्रेष्ठ, छन्त्याल संघका उपाध्यक्ष रेशम छन्त्याल, थकाली सेवा समाजका केन्द्रिय सदस्य गोपाल भट्टचन,पत्रकार महासंघका उपाध्यक्ष ठाकुरप्रसाद आचार्य लगायतले पनि शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
मगर समुदायको जातिय पोषाक र भेषभुषा सहितको झाँकी तथा ¥यालीले बेनी बजार परिक्रमा गरेपछि मगर संघको सभाहलमा पुगेर कार्यक्रम सुरु भएको थियो । नेपाल मगर संघ म्याग्दीका अध्यक्ष मुक्ति रोकाको अध्यक्षता, उपाध्यक्ष डकमाया पुर्जाको स्वागत र सचिव राजकुमार थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । आईतबार सम्म सञ्चालन हुने अधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्ने सचिव थापाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्