अस्पतालको पुर्वाधार तयार गरेर मात्रै स्वास्थ्य कार्यालयसंग अलग गर्नुपर्ने माग
सन्तोष गौतम/विकल्प
म्याग्दी,फागुन १३ गते ।
म्याग्दीका सरोकारवालाहरुले जिल्ला अस्पताल बेनीमा पुर्वाधार तयार गरेपछि मात्रै स्वास्थ्य कार्यालयबाट अलग गर्नुपर्ने माग गरेका छन् ।
स्वास्थ्य मन्त्रालयले म्याग्दी जिल्ला अस्पताललाई ५० शैयाको बनाउने निर्णय गरेसंगै यसैहप्ता संगै रहेका अस्पताल र जनस्वास्थ्य कार्यालय छुट्टीएका छन् । बेनीमा शुक्रबार भएको सरोकारवालाहरुको भेलामा सहभागि अधिकांशले तत्कालै अस्पताल र जनस्वास्थ्य कार्यालयलाई अलग गर्न नहुने बिचार ब्यक्त गरेका थिए ।
म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा भएको छलफलमा राजनितिक दल, उद्योगी ब्यवसायी र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो । छलफलमा जिल्ला अस्पताल विकास समितिका अध्यक्ष चन्द्रकुमार केसीले जनस्वास्थ्य कार्यालय मातहत बनाएर छुट्टाउदा पदीय नेतृत्वमा तलमाथि पर्ने जाँदा कार्यसञ्चालन र समन्वयमा कमी आई त्यसको असर सेवा प्रवाहमा पर्न जाने जानकारी गराउनु भएको थियो ।
सहभागि नेपाली काँग्रेस बेनी नगरपालीका ६ नम्बर वडाका कमीटीका सभापति रमेशकुमार श्रेष्ठ, एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, एकिकृत माओवादीका शेरबहादुर केसी, राप्रपाका एकेन्द्र रावल, राप्रपा नेपालका पहलबहादुर खत्री, जनमोर्चाका छवी बिक, नेकपा माओवादीका पूर्ण पुन, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्य, जेसीजका अध्यक्ष भिमसेन बराईली लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
जिल्ला अस्पताललाई ५० शैयाको बनाउने निर्णय फिर्ता हुन नदिने, अस्पताल र स्वास्थ्य कार्यालयलाई अस्पतालको पुर्वाधार तथा जनशक्ति ब्यवस्थापन नहुँदासम्म संगै सञ्चालन गराउने वातावरण बनाउन स्थानीय, प्रशासनीक र राजनितिक रुपमा दवावमुलक गतिबिधि गर्ने विषयमा छलफल भएको थियो ।
छलफलमा सहभागि नेपाल जेसीजका निवर्तमान अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका दितृय उपाध्यक्ष सुबिन श्रेष्ठ लगायतले चिकित्सकहरु कतिपय अवस्थामा प्रशासनीक काममा अल्झीदा उपचार सेवा प्रभावित बनेको अवस्थामा प्रशासीक र प्राबिधिक सेवा फरक फरक हुँदा उपयुक्त हुने बिचार पनि व्यक्त गर्नुभएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय स्थापना हुँदा स्वास्थ्य सेवामा के कस्तो फाईदा बेफाईदा हुन्छ भन्ने विषयमा सरोकारवालाहरुलाई जानकारी नहुनु र एक्कासी जनस्वास्थ्य कार्यालय स्थापना भएपछि कार्यालयभित्र दन्द्ध, बिवाद र समुदाय स्तरमा अन्यौल तथा अलफलको अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया राख्नुहोस्