म्याग्दीमा टोड्के महोत्सवको तयारी तिव्र ः फागुन २५ मा टोड्के महोत्सवमा जाऔं
विकल्प न्यूज /बेनी
फागुन १३ गते ।
म्याग्दीको पर्यटकीय स्थलका रुपमा विकास हुन लागेको टोड्के क्षेत्रमा गरिने दोस्रो गुराँस महोत्सवको तयारी तिव्र बनाइएको छ । आगामी फागुन २५ देखी २९ गतेसम्म सञ्चालन हुने महोत्सवको लागि आवश्यक पर्ने आर्थिक संकलन कार्यलाई आयोजकले तिव्र बनाएका छन् । जिल्लाको कुहुँ र झीँ गाउँको सिमानामा यो ठाउँ पर्दछ ।

अहिले सम्म करिव ११ लाख आर्थिक संकलन भएको छ । टोड्के क्षेत्र विकास कोषको मुल आयोजनामा हुन लागेको महोत्सवलाई स्वदेश तथा विदेशबाट समेत सहयोग आउने क्रम जारी रहेको कोषका उपाध्यक्ष बाबुराम आचार्यले बताउनुभयो । महोत्वसले टोड्केको पर्यटकीय संभावनालाई उजागर गर्ने विश्वास उपाध्यक्षले व्यक्त गर्नुभएको छ । प्रसस्त संभावना भएर पनि आशा गरिए जस्तो विकास हुन नसकेको टोड्के क्षेत्रको विकासमा सरोकारवाल निकायको ध्यान तान्न महोत्सवले सहयोग पुग्ने उहाँले आशा व्यक्त गर्नुभयो ।

महोत्सवले समग्र जिल्लाको पर्यटन विकासमा थप टेवा पुग्ने बताउँदै उपाध्यक्ष आचार्यले भन्नुभयो, ‘ टोड्केलाई नयाँ गन्तव्यका रुपमा विकास गर्न खोजेका छौ ।’ जिल्लाको महत्वपुर्ण पर्यटकीय क्षेत्र भएपनि पूर्वाधारको अभावमा ओझेलमा परेको छ ।
पछिल्लो समय स्थानीयवासीहरुको पहलमा विकासका पूर्वाधारहरुको निर्माण कार्य भइरहेका छन् । स्थानीयहरु टोड्केलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लागेको टोड्के क्षेत्र विकास कोषका अध्यक्ष मोहन बहादुर बताउनुभयो । उहाँले महोत्सवले जिल्लाको पर्यटनको क्षेत्रमा राज्यको ध्यान आकर्षीत गर्ने बताउनुभयो । उहाँले महोत्सवका बारेमा पर्यटन परिषद् सहित पर्यटनका क्षेत्रमा सक्रिय रहेका संघसंस्थालाई समेत जानकारी गराइएकाले पनि राज्यका निकायबाट समेत सहयोगको अपेक्षा गरिएको बताउनुभयो । महोत्सवमा खाना र बस्नका लागि निश्चित शुल्क निर्धारण गरी टेन्टको ब्यवस्था समेत गरिएको छ ।

पर्यटनमन्त्री आनन्द प्रसाद पोख्रेलको प्रमुख आथित्यतामा म्याग्दीको सदरमुकाम बेनीबाट करिव १४ किलोमिटरको दुरीमा रहेको धार्मिक तथा पर्यटक स्थल टोड्के क्षेत्रको प्रचारप्रसार, भौतिक संरचना निर्माण, स्थानीय उत्पादन,सामुदायिक लज, भि–टावर निर्माण लगाएतका पूर्वााधार बनाउने योजना समेत रहेको छ ।
रातो, सेतो लगाएतका १६ प्रजातिका लालिगुँरास पाइने भएकाले पनि बेनी तथा आसपासका क्षेत्रबाट बनभोज सहित गुराँसमा रमाउन जाने गर्दछन् ।

पाखाभरी धकमक्क फुलेका गुराँस, हिमश्रंखला, स्थानीय प्रजातीका मुला,आलु यहाँको प्रमुख आर्कषण मानिन्छ । समुन्दी सतहदेखी तीनहजार मिटर उचाईम अवस्थित टोड्केबाट १६ वटा भन्दा बढी हिमश्रं्खला तथा सुर्योदयको अवलोकन गर्न सकिन्छ । २०६५ साल चैत्र २१ देखी २५ गतेसम्म पहिलो गुराँस महोत्सवको आयोजना गरिएको थियो । पहिलो गुराँस महोत्सवले टोड्केको प्रचारप्रसारका साथै पर्यटकीय गन्तब्य बनाउन महत्वपुर्ण भुमिका खेलेको स्थानीयहरु बताउँछन् । फाइल तस्विर ठाकुरप्रसाद आचार्य
प्रतिक्रिया राख्नुहोस्