जिविस म्याग्दीले सुरु ग¥यो मोबाइल एप्स
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
म्याग्दी,फागुन १३ गते ।
जिल्ला विकास समिति म्याग्दीले आफ्ना गतिविधिहरुका वारेमा जिल्लावासीलाई सहज रुपमा जानकारी दिने उद्देश्यले विहिवार देखि मोबाइल एप्स प्रविधिको सुरुवात गरेको छ । स्थानीय विकास अधिकारी चिरन्जीवि पौडेलले विहिबार सो प्रविधिको उद्घाटन गर्नुभएको हो ।
जिविस मार्फत हुने विकास निर्माणका गतिविधिका साथै अन्य सूचना र सन्देशहरु सेवाग्राहीहरुले सहज रुपमा मोबाइल एप्स प्रविधि मार्फत जानकारी लिन सकिने जिविसले जनाएको छ ।

नागरिकमा सूचना प्रविधिको पहुँच अधिवृद्धि गर्ने उद्देश्यले मोबाइल एप्स प्रविधिको विकास गरिएको स्थानीय विकास अधिकारी पौडेलले बताउनुभयो । मोबाइल एप्स प्रविधिले सेवाग्राहीहरुलाई जिविसका सूचनाहरु लिन सहज हुने उहाँले अपेक्षा गुर्नभयो । जिविसले मोबाइल एप्स प्रविधिको विकास गरेर नागरिकहरुलाई सुसचित गरेको नेपालमै म्याग्दी पहिलो भएको बताउनुभयो ।
जिल्ला विकास समितिको वेभसाइटमा राखिएका नागरिक वडापत्र सूचना,सन्देश,वार्षिक प्रतिवेदन,उपलब्धी र जिविस मार्फत भएका विकास निर्माणका गतिविधिहरु मोबाइलमा एप्स डाउनलोड गरेपछि सजिलै हेर्न सकिने स्थानीय विकास अधिकारी पौडेलले बताउनुभयो । सूचना प्रविधिको उपयोगमा जिविस म्याग्दीको यो पहिलो खुडकिलो भएको उहाँले बताउनुभयो ।
मोबाइलमा एकपटक एप्स डाउनलोड गरेपछि अफलाइन वसेर पनि जिविसका गतिविधिहरु सहजै जानकारी पाउन सकिने जिविसका सूचना अधिकृत पदम भण्डारीले बताउनुभयो ।

भण्डारीका अनुसार जिविसका सूचनाहरु एप्स मार्फत सहज रुपमा उपलब्ध हुनुका साथै जिविस प्रति सेवाग्राहीका सल्लाह,सुझाव र गुनासा भएमा एप्स मार्फत पठाउन सकिने छ । एप्सलाई निशुल्क रुपमा मोबाइलमा डाउनलोड गर्न सकिने उहाँले बताउनुभयो ।

गाउँमै वसेर पनि एप्स मार्फत जिविसका विकास निर्माण लगायतका सूचनाहरु सहजै हेर्न र पढ्न सकिने जिविसले जनाएको छ । यस अघि जिविसले इलेक्ट्रोनिक हाजिर मेसिन, डिजिटल अडियो सेवा र अनलाइन मार्फत आफ्ना गतिविधिहरु नागरिकमा पु¥याइसकेको छ ।
एप्स डाउनलोड गर्नका लागि मोवाईलको प्ले स्टोरमा गएर डिडिसी म्याग्दी टाईप गरी डाउनलोड गर्न सकिन्छ । एकपटक डाउनलोड गरेपछि इन्टरनेट नभएपनि जिविसका ताजा गतिविधि र जानकारी पाउन सकिने जिविसका आईटी इन्जिनियर पौडेलले बताउनुभयो । एप्स बेनीका युवा रोशन गौतम र आइटी इन्जिनियर पौडेलको सहयोगमा निर्माण गरिएको जिविसले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्