युवा संघको आयोजनामा दरवाङमा सञ्चालित खेलकुदको उपाधी तोरीपानी युवा क्लबले जित्यो
विकल्प न्यूज /बेनी
फागुन १२ गते ।
युवा संघ जिल्ला कमिटी म्याग्दी र दरबाङ गाउँ कमिटीद्वारा संयुक्तरुपमा दर्बाङमा आयोजित विविध खेलकुद प्रतियोगिता आज सम्पन्न भएको छ । पुरुष भलिबलमा तोरिपानी युवा क्लब प्रथम, आयोजक युवा संघ दरबाङ गाउँ कमिटी दुखु बेसी द्धितीय, महिला भलिबलमा जनसाहारा युवा क्लब डाँडागाउँ रुम प्रथम, न्यू महिला सहकारी संस्था लिमिटेड दरबाङ द्धितीय हुन सफल भएका थिए । त्यसै गरि ब्याडमिन्टन प्रतियोगितामा दरबाङका चेतनारायण फगामी र अमृत थापाको समूह प्रथम, सिंगा तातोपानीका किसान श्रेष्ठ र कुल बहादुर रोकाको समूह द्धितीय भएका थिए ।
पुरुष भलिबलमा प्रथम र द्धितीय हुने टीमलाई क्रमशः ४० हजार, २० हजारको साथमा प्रमाणपत्र, महिला भलिबलमा प्रथम र द्धितीय हुने टीमलाई क्रमशः १५ हजार, ८ हजारको साथमा प्रमाणपत्र एवम् ब्याडमिन्टनमा १० हजार, ५ हजारको साथमा प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

विजयी हुने क्लब एवम् टीमलाई आयोजक समितिका कार्यक्रम संयोजक अनिल रोका, गाउँ कमिटी दरबाङका अध्यक्ष तारामान रोका, सचिव विजय रोका, ईलाका नम्बर ८ का अध्यक्ष सुमन गौतम , आयोजक समितिका सदस्य अनुप गौचन लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
साथमा युवा संघ जिल्ला कमिटीका अध्यक्ष प्रविण शाही, अनेरास्ववियूका केन्द्रीय सदस्य प्रकाश पौडेल, युवा संघका जिल्ला सचिव हरि केसी, सचिवालय सदस्य लब थापा लगायतको समेत विशेष उपस्थिती रहेको आयोजकले जनाएको छ ।

उक्त समापन समारोहमा जनसांस्कृतिक महासंघ म्याग्दीका अध्यक्ष जीवन कार्की एवम् कोषाध्यक्ष रवि कार्कीले विभिन्न गीत एवम् हांस्यव्यङ्ग्य प्रस्तुत गर्नु भएको युवा संघका प्रचार विभाग प्रमुख कमल बानियाँले जानकारी दिनु भएको छ ।

प्रतियोगितामा जिल्लाभित्रका विभिन्न गाउँ स्तरका युवा क्लबको सहभागिता रहेको थियो । प्रतियोगिता अन्तर्गत पुरुष भलिबल प्रतियोगितामा १५ टीम र महिला भलिबल प्रतियोगितामा १० टीम एवम् ब्याडमिन्टन प्रतियोगितामा विभिन्न १२ टीमको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्