समाचारले फर्किएको रमेश दर्जीको मुस्कान
विकल्प न्यूज/बेनी
फागुन ११ गते । आर्थिक अभावमा छाला सम्बन्धि रोगको उपचार गर्नबाट बन्चित भएका बागलुङ जिल्लाको भिमगिठे गाविस–५का ११ बर्षिय रमेश दर्जीको अहिले जिवन फेरिएको छ । आर्थिक अभावका कारण उपचारबाट बञ्चित भएको समाचारहरु प्रकाशित भएपछि उनको उपचारमा सवैतिरबाट सहयोग प्राप्त भएको हो ।
उपचार पाएपछिको तस्विर
विभिन्न संघसस्थाको सहयोगमा उनको अहिले उपचार भएको छ । गाउँबाट काठमाण्डौसम्म लैजान बागलुङको श्रीनगर टोलमा रहेका सल्युट गोर्खा ट्यानिङ्ग सेन्टर एण्ड होस्टेल र सेभ द यूथ नेपालले १० हजार सहयोग गरेको थियो ।
आर्थिक अभावका कारण उपचारबाट बन्चित भएको समाचार बेनीअनलाइन,विकल्प न्यूज र अन्य संचार माध्यमहरुमा प्रकाशित भएपछि हेस्टेलका संचालक एवम् सेभ द यूथ नेपालका अध्यक्ष मनिश रायमाझीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
बूढो सालको रूखको बोक्राजस्तो जरखरिएको, सुक्खा र कुरूप थियो रमेशको शरीरको पूरै छाला । जन्मेको केही दिनपछि नै रमेशको छाला कालो हुँदै गयो । नयाँ छाला त पलाउँथ्यो तर त्यो पनि उस्तै कालो थियो, केही दिनमा सुक्थ्यो र उस्तै गनाउँथ्यो पनि ।
छालामा देखिएको अनौठो रोगका कारण सिंगो शरीर नै कक्रकिएको थियो । छालामा देखा परेको रोगका कारण उनले पर्याप्त भिटामिन डी’ पाएनन् । अभावका कारण पोषणको कमी छँदै थियो । सुरुका केही वर्ष सुस्तरी हिँडडुल गर्ने रमेश बिस्तारै थला परे । भिटामिन ‘डी’को कमीले हड्डीको विकास राम्ररी हुन पाएन र खुट्टाका हड्डीहरू बिस्तारै बांगा हुन थाले । पर्याप्त स्याहार, पोषणको अभाव र रोगको पहिचान र निदानको अभावमा रमेशले आँखाको ज्योति पनि गुमाए ।

वर्षका अधिकांश समय भारतमा मजदुरी गर्ने बाबु नन्दबहादुरको अनुपस्थितिमा चार सन्तानको जिम्मेवारी नन्दमायाको काँधमा थियो । नरकुमारीको मायाले वर्षौंसम्म रमेशको रोगको उपचार हुन सकेन ।
‘सानो आशा’ नामक फेसबुक समूह,बेनी अनलाइन,विकल्प न्यूज र नवविकल्प साप्ताहिक लगायतले रमेशको स्वास्थ्य अवस्थाका वारेमा सार्वजनिक गरे ।
फेसबुक समुहले फेसबुकमा भिडियो राखेपछि बेलायत बस्ने तनहुँकी सरला थापाको सहयोगमा टीभी पत्रकार सरल गुरुङले रमेशलाई काठमाडौँ ल्याए र मेडिकल कलेज सिनामंगलमा उपचार सुरु गरे । डाक्टरत्रय सविना भट्टराई, आयुशमान घिमिरर श्रेया बस्ताकोटीले रमेशको उपचार सुरु गरेपछि उनी बिस्तारै तंग्रिन थालेका छन् ।

उनको अनुहारमा वर्षौंदेखि हराएका मुस्कानका रेखा दौडिन थालेका छन् । रमेशका बुबा नन्दबहादुरले अनुहारभरि खुसी ल्याएर भने, “छोरो यति राम्रो होला र मुसुक्क मुस्कुराउला भन्ने सपनामा पनि सोचेको थिइनँ ।”
नेपाल साप्ताहिको सहयोगमा तयार पारिएको । तस्विर सरल गुरुङ



प्रतिक्रिया राख्नुहोस्