म्याग्दी नांगीको हाते कागज उद्योग नेपालकै उत्कृष्ट
सन्तोष गौतम/विकल्प
म्याग्दी,फागुन १० गते ।
देशभर सञ्चालित घरेलु तथा साना उद्योगहरुबीच भएको प्रतिस्पर्धामा म्याग्दीको हाते कागज उद्योग प्रथम भएको छ ।
उद्योग मन्त्रालय अन्तरगतको घरेलु तथा साना उद्योग विकास बिभागले काठमाडौमा गरेको प्रर्दशनीमा राम्चे गाविस २ नांगीमा रहेको हिमाञ्चल हाते कागज उद्योगले प्रथम स्थान हाँसील गरेको हो । आईतबार सम्पन्न ६ दिने प्रर्दशनीमा ७३ जिल्ला र काठमाडौ उत्पत्यका उद्यमीहरुको सहभागिता रहेको थियो ।
प्रथम भएको कागज उद्योगलाई बिभागले नगद १५ हजार रुपैया पुरस्कार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरेको हिमाञ्चल हाते कागज उद्योगका संयोजक चित्र तिलीजा पुनले जानकारी दिनुभयो । उहाँका अनुसार उत्पादनको बिबिधता, गुणस्तर, उद्योगमा प्रयोग हुने स्वदेशी कच्चा पदार्थ, रोजगारी सिर्जना लगायतका आधारमा उत्कृष्ट उद्योग छनौट भएको हो ।
पुरस्कारले म्याग्दीमा घरेलु तथा साना उद्योगको सम्भावना उजागर हुनुका साथै उद्यमीहरुलाई थप हौसला मिलेको संयोजक पुनले बताउनुभयो । ‘हामीले प्राप्त गरेको पुरस्कार म्याग्दी जिल्लाको गौरव, प्रतिष्ठा र सम्भावनासंग जोडिएको छ’ पुनले भन्नुभयो ।
उक्त प्रर्दशनीमा घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीको सिफारीसमा कागज उद्योगको साथै बेनीको मंगलाघाटमा सञ्चालित जालपा फुड प्रोडक्टले पनि खाद्य बस्तुतर्फ सहभागिता जनाएको थियो । वि.स २०७० मा स्थापित हाते कागज उद्योगमा ९ जना महिलाहरुले रोजगारी पाएका छन् ।
उद्योगले कागज उत्पादनका क्रममा स्थानीय सिप र स्रोत साधनमा आधारीत फरक प्रबिधिको प्रयोग गरेको छ । सिसाको घर बनाएर त्यहाँभित्र कागज सुकाउने प्रबिधि प्रयोगमा ल्याएको हो । उद्योगले नेपाली कागजको डायरी, सपीङ ब्याग, खेलौना र गहनाहरु पनि उत्पादन गर्दै आएको छ ।
उद्योग सञ्चालन भएपछि बर्षौदेखि जंगलमा कुहिएर खेर गैरहेको लोत्ताको सदुपयोग हुनुका साथै बरोजगार महिलाहरुलाई रोजगारीको अवसर प्राप्त भएको छ । उद्योगको उत्पादन राजधानी काठमाडौ, स्थानीय बजार र दक्षिण कोरीयामा पनि निकासी हुने गरेको छ । उद्योगको आम्दानी स्थानीय हिमाञ्चल उच्च मावि सञ्चालनमा परिचालन हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्