अखिल क्रान्तिकारी म्याग्दीले शैक्षिक जागरण अभियान चलाउने
विकल्प न्यूज/बेनी
म्याग्दी,फागुन १० गते ।
हालै निर्वाचित एकिकृत नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सोमबार बेनीमा बसेको पदाधीकारी बैठकले शैक्षिक जागरण तथा सुधारका लागि विभिन्न रचनात्मक गतिबिधि गर्ने योजना पारित गरेको छ ।
अखिल क्रान्तिकारी म्याग्दीका अध्यक्ष सुदिन पौडेलको अध्यक्षतामा बसेको बैठकले सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर वृद्धी, उच्च मावि तथा क्याम्पसको शैक्षिक सुधारका लागि पहल गर्ने निर्णय गरेको हो ।
जस अनुसार एसएलसी परिक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई सहयोग पुग्ने गरि फागुन २८ गते बेनीमा जिल्ला स्तरीय हाँजीरी जवाफ प्रतियोगिताको आयोजना गर्ने निर्णय भएको संयोजक पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त कार्यक्रमका लागि उपाध्यक्ष यामनाथ पौडेलको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । आर्थिक संकलनको जिम्मेवारी सचिव रेशम केसीलाई दिइएको छ ।
बैठकमा एकिकृत नेकपा माओवादीका केन्द्रिय परिषद् सदस्य गोविन्द पौडेल, जिल्ला कोषाध्यक्ष शेरबहादुर केसी, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य कुशल पौडेल, वाईसीएल नेता नगेन्द्र भण्डारी लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्