म्याग्दीका यातायात व्यवसायी भन्छन् – पेट्रोल पम्पले कालोबजारी गरे
विकल्प न्यूज
म्याग्दी,फागुन १० गते ।
मधेश आन्दोलन फिर्ता र सिमा क्षेत्रमा पाँच महिनासम्म भएको नाकाबन्दी खुलेपनि म्याग्दीमा इन्धन संकट हटेको छैन् ।
देशको असहज अवस्थामा भन्दा अहिले जिल्लामा इन्धन आपूर्ती बढेको अवस्थामा डिजेल पेट्रोलको अभाव बढी रहेको सार्वजनीक यातायात ब्यवसायीले बताएका छन् ।
पछिल्लो समय जिल्लामा भित्रीएको इन्धन पम्प सञ्चालकले निर्माण ब्यवसायीलाई मात्रै दिएको र निर्माण ब्यवसायीले इन्धनको कालोबजारी गर्न थालेको आईतबार प्रशासनमा गएका यातायात ब्यवसायीले आरोप लगाएका छन् ।
गत बिहीबार बेनीका दुई र गलेश्वरको एक वटा पेट्रोल पम्पमा तिनतिन हजार लिटर डिजेल ल्याइएको भएपनि शुक्रबार बिहान बेनीबाट छुट्ने सार्वजनीक यातायातका साधनले नपाएको म्याग्दी जिप तथा बस सञ्चालक समितिका उपाध्यक्ष मोहन केसीले बताउनुभयो ।

उहाँले केही निर्माण ब्यवसायीसंग बढी मूल्य तिरेर डिजेल किनेर आफूहरुले यात्रुलाई सेवा दिएको बताउनुभयो । यातायात ब्यवसायीका अनुसार म्याग्दीमा दैनिक एक हजार दुई सय लिटर इन्धन खपत हुन्छ ।
म्याग्दी जिप तथा बस सञ्चालक समितिका उपाध्यक्ष केसी, बरिष्ठ उपाध्यक्ष कमल केसी, कार्यालय प्रमुख देवेन्द्र पौडेल लगायतका यातायात ब्यवसायीहरुले सहायक प्रमुख जिल्ला अधिकारी यामबहादुर चोखालसंग इन्धनको कालोबजारी नियन्त्रण गर्न र आपूर्ती तथा वितरणलाई सहज बनाउन माग गरेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी चोखालले इन्धन आपूर्ती सहज बनेपछि सरोकारवालाहरुको सहमति अनुसार पम्प सञ्चालकलाई वितरण गर्ने अधिकार दिएको बताउनुभयो । कालोबजारी भएको प्रमाण सहित सूचना दिन अनुरोध गर्दै त्यस्तो काम गर्नेलाई कारबाही गरीने सहायक प्रजिअ चोखालले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्