जिल्ला वन कार्यालय म्याग्दी रित्तै – दिनभरी कार्यकक्ष खाली बनाएर कहाँ जान्छन् कर्मचारी ?
सन्तोष गौतम/विकल्प
म्याग्दी,फागुन ९ गते ।
जिल्ला वन कार्यालय म्याग्दीका कर्मचारीहरुको लापरबाहीले सेवाग्राहीलाई सास्ती भएको छ । कार्यालय प्रमुख लगायतका कर्मचारीहरु कार्यालय र कार्यक्षेत्रमा नहुँदा सेवाग्राहीलाई सास्ती भएको हो ।
तालीम, गोष्ठि र कार्यक्षेत्रमा गएको काज बनाएर व्यक्तिगत, घरायसी, राजनितिक काममा कर्मचारीहरु हिड्न थालेपछि वन कार्यालयका कार्यकक्ष रित्तै हुने गरेका छन् ।

वन कार्यालयका कर्मचारीहरुकार्यकक्षमा नभेटिने मात्र होईन कहाँ छन भन्ने विषयमा कसैले अत्तोपत्तो पाउदैनन् । आईतबार १२ बजे वन कार्यालयमा भेटिएका मुदी ३ का लालजित पुनले कार्यालय प्रमुख लगायतका कर्मचारी नभेटिएपछि रित्तै फर्कनुपरेको गुनासो गर्नुभयो ।

दुई दिन लगाएर दुर्गम ठाउँबाट वन कार्यालयमा आएका पुन जस्तै धेरै जसो सेवाग्राहीको एउटै गुनासो छ कर्मचारी र कार्यालय प्रमुख नभेटिएको तथा भेटिएपनि काम गरेवापत अतिरित्त पैसा माग्ने गरेको गुनासो । आईतबार दिउँसो २.४० बजेसम्म वन कार्यालयमा तिन जना सहायक स्तरका कर्मचारी र कार्यालय सहयोगी मात्रै थिए ।
कार्यालय प्रमुख सुखलालप्रसाद जयसवाल क्षेत्रीय गोष्ठिमा सहभागी हुन भनेर पोखरा गएको बताएपनि पोखरामा गोष्ठिनै नभएको पाइएको छ । बिहान बेनीमा पश्चिमाञ्चल क्षेत्रीय प्रशासन शंकर कोईरालाको उपस्थितीमा वन कार्यालयका प्रमुख जयसवाल उपस्थित नभएपछि सोधखोज भएको थियो ।
प्रजिअ सागरमणी पाठकले वन अधिकृत कार्यक्रममा सहभागि हुन पोखरा गएको जानकारी गराएको बताएपछि क्षेत्रीय प्रशासक कोईरालाले तत्कालै क्षेत्रीय वन कार्यालयका प्रमुखसंग बुझ्दा पोखरामा त्यस्तो कुनै कार्यक्रम नभएको खुलासा भएको थियो । वन अधिकृत जयसवालले कार्यालयमा कसैलाई पनि निमित्तको जिम्मेवारी पनि दिएका छैनन् ।
ईलाका वन कार्यालय मंगलाघाटका सहायक वन अधिकृत राजकुमार ठाकुरले कार्यालय प्रमुखले कसैलाई पनि निमित्तको जिम्मेवारी नदिएको पुष्टी गर्नुभयो । कार्यालय प्रमुख कार्यालय बाहिर जाँदा निमित्तको जिम्मेवारी र प्रमुख जिल्ला अधिकारीलाई लिखित जानकारी गराउनुपर्ने ब्यवस्था छ ।
वन अधिकृत जयसवाल मात्र होईन सहायक वन अधिकृत अजयबिक्रम मानन्धरको कार्यकक्ष पनि आईतबार खाली थियो । मानन्धरले आफ्नो केन्द्रिय स्तरका नेतासंग पहुँच भएको धम्की दिएर कार्यालयको काज बनाएर काठमाडौ जाने, लोक सेवा आयोगको तयारी कक्षा तथा परामर्शदाता कम्पनीहरुमा काम गर्ने गरेको वन कार्यालयका कर्मचारीहरुले बताएका छन् ।
कार्यालयमा दिउँसो २.४० बजे टुप्लुक्क आईपुगेका नायव सुब्बा छवीलाल भुषाले आफू घरबाटै आउदै गरेको र अरु कर्मचारीहरुको बारेमा जानकारी नभएको प्रतिक्रिया दिनुभयो । शुक्रबार र शनिबार लगातार बिदा परेपछि बिहीबार पर्वत स्थित घर गएका भुषालले गाडी नपाएर ढिला भएको दावी गर्नुभयो । लेखापाल गोविन्द शर्माले आईतबारका लागि बिदा लिनुभएको थियो ।

कार्यालयको योजना फाँटका सहयाक वन अधिकृत रिता खत्री पनि कार्यकक्षमा भेटिनुभएन् । जिल्ला वन कार्यालयको मात्र नभएर धेरै जसो ईलाका वन कार्यालयका प्रमुखहरु सदरमुकाममै बस्ने तथा कार्यक्षेत्रमा नभेटिने गरेको सेवाग्राहीले गुनासो गरेका छन् ।
वन अधिकृत जयसवाललाई सम्र्पक गर्न खोज्दा उहाँले प्रयोग गर्ने ९८५७६४०४६१ नम्बरको मोवाईलको स्वीच अफ थियो । गत कात्तिक १७ गते कार्यालयमा हाँजीर भएका वन अधिकृत जयसवाल कार्यालयमा कमै मात्र उपस्थित हुने गरेको कर्मचारीहरुले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले क्षेत्रीय प्रशासक आउने विषयमा पहिलेनै जानकारी गराएर वन अधिकृतलाई अनिवार्य सहभागि हुन निर्देशन दिएपनि अटेर गरेको बताउनुभयो । कार्यालयनै खाली हुनु लापरबाही भएको बताउदै प्रजिअ पाठकले अनुसन्धान गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्