पत्रकार सन्तोष गौतम लेख्नुहुन्छ – हिदीवासीको हिम्मत (रिपोेर्टर डायरी)
विकल्प /
म्याग्दी,फागुन ९ गते ।
म्याग्दीको पश्चिमी क्षेत्रका तिन वटा गाविसको सिमानामा पर्छ हिदी गाउँ । बाबियाचौर, कुहुँको ९ तथा दरवाङ गाविसको ४ नम्बर वडामा पर्ने हिदी गाउँ राज्यका आधारभुत सेवा सुबिधाबाट बञ्चित छ । पुर्वाधार विकासका हिसावले पछि परेको भौगोलिक रुपमा बिकट हिदी गाउँका बासिन्दाको जिवनयापन कष्टकर छ । राज्यका निकायको न्युन उपस्थिती र असहयोगको बावजुद हिदी गाउँ बिकासको बाटोमा बामे सर्दैछ । डेढ सय घरधुरीको बसोबास रहेको हिदी गाउँको प्रमुख समस्या सडक, स्वास्थ्य र शिक्षाको सहज पहुँच नहुनु हो ।
हिदीका बासिन्दाले अन्न र पशुचौपाया बेचेर सामुदायीक विद्यालय चलाएका छन् । सामुदायीक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकको तलबभत्ताका लागि अन्न र पशुपंक्षी बेचेर चन्दा सहयोग गरेका हुन् । हिदीमा सञ्चालित सिद्धशान्ति माविलाई अभिभावकहरुले घरको कोदो, मकै, गहुँ, आलु, तरकारी, कुखुरा, परेवा, बाख्रा र गोरु बेचेर चन्दा सहयोग गर्दै आएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिर्थराज शेरपुञ्जाले बताउँछन् । अध्यक्ष शेरपुञ्जाका अनुसार १४ जना शिक्षक शिक्षिका कार्यरत विद्यालयमा कार्यरत निजी स्रोतका पाँच जनाको तलब र तल्लो तहको दरबन्दि भई माथिल्लो तहमा पढाउने शिक्षकको भत्ताका लागि चन्दा र सहयोगलाई प्रमुख आयस्रोत बनाइएको छ ।
हाल १८० जना विद्यार्थी अध्ययनरत विद्यालयले प्रत्येक अभिभाकबाट वार्षिक रुपमा चार हजार पाँच सय देखि पाँच हजार रुपैयाँ सम्म सहयोग उठाउने गरेको छ । बिदेशमा गएकाहरुले उपलब्ध गराउने चन्दा पनि विद्यालयको आयस्रोत हो । यसैगरी शिक्षक र विद्यार्थीले तिन रोपनी बारीमा आलु खेती पनि गरेका छन् । आर्थिक रुपमा विपन्न र न्युन आयस्रोत भएका अभिभावकहरुले पनि ज्याला मजदुरी गरेर अथवा अन्न र पशुपंक्षी बेचेर विद्यालयलाई सहयोग गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष शेरपुञ्जाले बताए । निजी स्रोतका शिक्षकको तलबभत्ताका लागि मासिक ७५ हजार रुपैया समुदाय स्तरबाट जुटाउने गरिएको छ । प्राबितह सम्मको मात्र दरबन्दि स्विकृत उक्त विद्यालयले वि.स २०६७ देखि मावि तहको पठनपाठन सुरु गरेको थियो । गाउँमै मावि तहको पठनपाठन हुन थालेपछि भौगोलिक रुपमा विकट हिदी गाउँका बालबालिकाहरुको शिक्षामा पहुँच बढेको छ । गाउँमा मावि नहुँदा दैनिक तिन घण्टा हिडेर कुहुँ, बाबियाचौर पुग्नुपर्ने, डेरा लिएर बस्नुपर्ने र पढाईनै छाड्नुपर्ने अवस्था थियो ।
पढ्नका लागि गाउँ छाडेर जाँदा हुने खर्च र दुख सम्झिएर अभिभावकले विद्यालयलाई सहयोग गरेको प्रअ होमनाथ पाण्डेले बताए । ‘सरकारले मावि खोल्न अनुमति दियो, शिक्षक दिएको छैन् । गाउँको आवश्यकता पनि हो’ प्रअ पाण्डेले भने ‘घर छाडेर पढ्न जाँदा र पढ्नै नपाउनु भन्दा घरकै आटोपिठो खाएर पढ्न पाउँदा विद्यार्थी र अभिभावकलाई राहत मिलेको छ ।’ समुदायको पहलमा संचालित उक्त विद्यालय शैक्षिक र सिकाई उपलब्धीका हिसावले भने जिल्लामै अगाडी छ । दुई वर्ष प्रवेशिका परिक्षामा सत प्रतिशत विद्यार्थी उतिर्ण गराएको विद्यालयको समग्र सिकाई उपलब्धि सरदर ८५ प्रतिशत छ । विद्यालयले विद्यार्थी केन्द्रित शिक्षण बिधि, प्रबिधि र शिक्षण सहयोगी सामाग्रीको प्रयोग, ब्यवहारीक अभ्यास र बालमैत्री वातावरणलाई जोड दिएको छ ।
जेनतेन दःुखजिलो गरेर सामुदायीक विद्यालय चलाएर आफ्ना सन्तानलाई शिक्षा दिलाउन संघर्ष गरिरहेका हिदीबासीको आधारभुत स्वास्थ्य सुबिधामा पहुँच पुगेको छैन् । उनिहरु सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्नबाट बञ्चित भएका छन् । उनिहरुले स्वास्थ्य सेवा भनेको कुन चराको नाम हो भन्ने समेत जान्न पाएका छैनन् । सामान्य बिरामी पर्दा समेत तिन घण्टा पैदल हिडेर स्वास्थ्य संस्था पुग्न बाध्य भएका छन् । सिटामोल खान नपाएका हिदीका बासिन्दाहरु आधारभुत स्वास्थ्य सेवाबाट बञ्चित भएका हुन् । स्वास्थ्य संस्था नहुँदा आधारभुत स्वास्थ्य उपचार सेवाबाट बञ्चित भएका हुन् । तिन घण्टा पैदल हिडेर कुहुँ र बाबियाचौरमा रहेको स्वास्थ्य संस्थामा पुग्नुपर्ने बाध्यता रहेको हिदीका बासिन्दा ओमबहादुर बुढाले बताए । उनका अनुसार उपचारका लागि स्वास्थ्य संस्था जान र आउनका लागि पुरै दिन लाग्ने गरेको छ ।
भिरपहरा र जंगलको बाटो हिडेर स्वास्थ्य संस्था पुग्न नसक्ने जेष्ठ नागरीक, अपाङ्ग, सुत्केरी, गर्भवती तथा विपन्नलाई उपचार सेवा प्राप्त गर्न समस्या भएको छ । हिदीसंगै कुहुँको ८ नम्बर वडामा पर्ने थाईवाङ र दरवाङको दुखु गाउँका बासिन्दालाई पनि नजिक स्वास्थ्य संस्था नहुँदा समस्या भएको छ । सिटामोल र प्राथमिक उपचार समेत नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको हिदीका बासिन्दा चतुरधोज फगामीले बताए । सहज र सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने ब्यवस्था गरिदिन हिदीका बासीन्दाले सरकारी निकायसंग आग्रह गरेका छन् । उनिहरुले हिदीमा सामुदायीक स्वास्थ्य ईकाई स्थापना गरेर स्वास्थ्य सेवा उपलब्ध गराउन माग गरेका हुन् । गाउँ परिषद्बाट स्वास्थ्य ईकाईको माग गरिएको सिद्धशान्ति माविका प्रअ होमनाथ पाण्डेले बताए । दःुखु, हिदी र थाईवाङका बासिन्दाका लागि पायक पर्ने हिदीमा स्वास्थ्य ईकाई स्थापना भएमा त्यहाँका बासिन्दाले राहत पाउनेछन् ।
हालै मात्र बाबियाचौर र कुहुँ अन्तरगत पर्ने हिदीमा केन्द्रिय प्रशारण लाईनको सुबिधा पुगेको छ । दरवाङको हीदीमा विद्युत पनि छैन् । पेल्ट्रीक सेटको बिजुली भरपर्दो नहुँदा सुबिधा भन्दा धेरै सास्ती भएको छ । भरजुला हुदै गत वर्ष हिदी सम्म सडक ट्याक खुलेको थियो । जंगलको साघुँरो, उकालो र कच्चि सडक प्राबिधिक हिसावले उपयुक्त छैन् । जेनतेन ट्याक्टर र जिपले सामान ढुवानी गरेर हिदी सम्म पुराउने गरेका छन् । पहिले खनेको बाटो सुबिधायुक्त नभएपछि अर्को बाटो खन्ने काम भैरहेको छ । भरजुला हुदै बाबियाचौरको सिमा भएर कुहुँ र दरवाङको हिदी हुदै गाउँका सबै बस्तीलाई जोड्ने सडक बनाउन जिविसले यस वर्ष अनुदान पनि दिएको छ । स्थानीय स्तरमा चन्दा पनि जुटाएर सडक निर्माणको काम भैरहेको छ ।
हिदीबासीको प्रमुख आयस्रोत बैदेशिक रोजगार र खेती किसानी हो । आलु खेतीका हिसावले हिदी प्रसिद्ध छ । यहाँ बर्षमा २५ हजार मुरीसम्म आलु उत्पादन हुन्छ । उत्पादीत आलुलाई सहज रुपमा ढुवानी गरेर बजारसम्म लैजाने सुबिधा छैन् । खच्चर र भरिया लगाएर आलु ढुवानी हुन्छ । जिल्ला कृषि विकास कार्यालयको सहयोगमा गत वर्ष आलुको विउ भण्डार गृहको भवन निर्माण भएको छ । यस वर्ष उक्त भवनमा ¥याक जडान गरेर विउ आलु भण्डारणका लागि प्रयोगमा ल्याउने कृषकहरुको योजना छ । पशुपालनका हिसावले सम्भावनायुक्त हिदीका कृषक सो सम्बन्धि सेवा र सुबिधा तथा ब्यवसायीक ज्ञानको अभावमा रुमलीएका छन् । प्रशस्त पाखोबारी र डालेघाँस पाईने भएकाले बाख्रापालनको राम्रो सम्भावना छ । हालसम्म कुनै पनि सञ्चार सुबिधा नभएको हिदीमा यसै हप्तादेखि निजी क्षेत्रको एनसेल मोवाईल फोन सुबिधा पुगेको छ । नवविकल्प साप्ताहिक अंक २२ मा प्रकाशित


प्रतिक्रिया राख्नुहोस्