पर्वत कांग्रेसमा संस्थापनका भुषाल
विकल्प न्यूज/पर्वत
पर्वत,फागुन ५ गते ।
नेपाली कांग्रेस पर्वतको बुधबार भएको दोस्रोपटकको निर्वाचनबाट संस्थापनका खिमप्रसाद भुषाल सभापतिमा बिजयी भएका छन् । भुषालले ३ सय ४४ मत प्राप्त गरे भने देउवा पक्षका खगेन्द्र तिवारीले २ सय ७ मत प्राप्त गरे ।
सोमबार भएको पहिलोपटकको निर्वाचनमा संस्थापनका दुईसहित तीन जनाको उम्मेदवारी परेकोमा पार्टीको बिधान बमोजिम सभापति बन्न आवश्यक ५१ प्रतिशत मत कुनै उम्मेदवारको पनि नआएपछि दोस्रोपटक निर्वाचन भएको हो । मंगलबार दोस्रोपटक निर्वाचन हुने भनिए पनि देउवा पक्ष सममत नभएपछि प्रकृया अनिश्चित भएको थियो । बुधबार बिहान दुवै पक्ष निर्वाचन गर्न सहमत भएपछि दिउँसो १२ बजेबाट मतदान शुरु भएको निर्वाचन अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले बताए ।

महासमिति भने दुवै पक्षको सहमतिमा चुनियो । महासमिति सदस्यमा क्षेत्र नम्बर १ बाट डम्बरबहादुर बिक, बसन्तबहादुर सिके, भवानीशंकर पौडेल, लालकाजी गुरुङ र मिना केसी छन् । त्यस्तै क्षेत्र नम्बर २ बाट ऋषिकेश तिवारी, खगेन्द्र तिवारी, गंगाधर तिवारी, नवराज गुरुङ र राधाकुमारी कुँवर छन् । सोमबार भएको निर्वाचनले जिल्ला सचिवमा देउवा पक्षका विश्वप्रकाश प्रसाई र कोषाध्यक्षमा संस्थापनका रामकृष्ण मल्ल निर्वाचित भइसकेका छन् ।
प्रतिक्रिया राख्नुहोस्