किन च्याते काँग्रेस सांसद जोसीले पर्वतमा पत्रिका
विकल्प न्यूज /बेनी
फागुन ५ गते ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पर्वत क्षेत्र नं। १ का सांसद अर्जुनप्रसाद जोशीले समाचारका विषयलाई बुधबार न्यु कालीगण्डकी दैनिक पत्रिका च्यातेका छन् । पत्रिका च्यात्ने उनले पत्रिकाको अपमान समेत गरेका छन् । छापिएको समाचारका विषयमा उजुरी गर्ने कानुनी प्रावधान हुँदा हुँदै सांसद जस्तो व्यक्तीले पत्रिका च्यात्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
पत्रिकाको पहिलो पृष्ठमा छापिएको ‘पर्वत कांग्रेस सभापतिको चुनाव अन्योलमा, सहमतिको प्रयास जारी’ शीर्षकको समाचारलाई लिएर उनले कांग्रेस कार्यकर्ताबीचमा पार्टी कार्यालय अगाडि पत्रिका च्यातेका हुन् । उनले पत्रिका च्यातिरहँदा केही कार्यकर्ताहरुले पत्रिकामाथि रिस नपोख्न र कार्यकर्ताहरुमा देखिएको विवाद मिलाउन आग्रह गरेका थिए ।
नेपाली कांग्रेसको सभापतिका लागि मंगलबार बिहान १० बजेदेखि हुने भनिएको चुनाव दिनभर हुन नसकेपछि ‘सभापतिको चुनाव अन्यौलमा’ शीर्षकको खबर पत्रिकामा प्रकाशित भएको थियो । नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्मा र सचिव छविलाल तिवारीको विज्ञप्ति निकालेर उक्त घटनाको विरोध गरेका छन् ।
विज्ञप्तिमा प्रेसमाथि भएको अनादरको घटनामा माफी माग्नुपर्ने माग गर्दै आगामी दिनमा घटना नदोहो¥याउन सचेत गराइएको छ । समाचारमा चित्त नबुझे खण्डन गर्ने वा विज्ञप्ति मार्फत सच्याउन सकिने ठाउँ हुँदा हुँदै सार्वजनिक स्थलमा पत्रिका च्यातिएकोप्रति महासंघले विरोध जनाएको हो ।
प्रतिक्रिया राख्नुहोस्