अझै खुल्न सकेन म्याग्दीकी खिममायाको मृत्युको रहस्य,
विकल्प न्यूज/बेनी
फागुन ५ गते ।
माघ २५ मा लेखनाथको बेगनाश तालमा मृत अवस्थामा भेटिएकी खिममाया पुनको मृत्युको रहस्य अझै खुल्न सकेको छैन । मृतकका आफन्तले हत्याको आशंका गर्दै शव बुझ्न मानेका छैनन् भने कास्की प्रहरीले न त स्वभाविक मृत्यु हो भन्न सकेको छ न त हत्या भएको प्रमाण फेला पारेको छ । ‘आत्महत्या हो वा दुर्घटना’ कास्की प्रहरी अन्योलमा छ ।
खिममायाले काम गर्ने कार्यालय फेवा विकास बैंकका हाकिमसँग उनको गम्भीर मनमुटाव भएको तथ्य सार्वजनिक भएको छ । बैंकका शाखा प्रबन्धक अरुण सापकोटाले मागेको औपचारिक प्रतिवेदन बुझाउन इन्कार गरेपछि दुईबीच मनमुटाव बढेको देखिएको छ ।
शाखा प्रबन्धक सापकोटाले फेवा विकास बैंकको केन्द्रीय कार्यालयलाई लेखेको पत्रमा खिममायाले संस्थाको नियम अनुसार काम नगरेकाले आफूले घर पठाइदिएको उल्लेख छ । पटकपटक अनुरोध गर्दा पनि अटेर गरेको गुनासो गर्दै अरुणले यस्ता अटेरीलाई कस्तो कारबाही गर्ने हो भन्ने जिज्ञासा पनि केन्द्रीय कार्यालय समक्ष राखेका छन् ।
उनले केन्द्रीय कार्यालयलाई पठाएको पत्रमा खिममायाले पटकपटक अटेर गरे पनि उनलाई सुध्रने मौका दिने पक्षमा आपूm रहेको उल्लेख गरेका छन् । उनले पत्रमा खिममायाले के काम नगरेको हो भन्ने चाहिँ किटान गरेका छैनन् ।
फेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाका अनुसार कर्मचारीलाई विभिन्न खालको कामको लक्ष्य दिने संस्थाको नियम हुन्छ । ‘ऋण असुली, डिपोजिट संकलन आदिको टार्गेट दिने र लिने चलन हुन्छ,’ थापाले भने ।
आफ्नै हाकिमले घर फिर्ता पठाइदिएपछि खिममाया कहाँ—कहाँ गइन् र के—के गरिन् भन्ने अनुसन्धान गर्न कास्की प्रहरी जुटेको छ । ‘तर बताउन मिल्ने गरी अझै केही पत्ता लागेको छैन,’ डिएसपी गजुसिद्धि बज्राचार्यले भने ।
दिउसो १ बजेतिर छोरीले आफूलाई फोन गरेको उनका बाबुले पुष्टि गरेका छन् । ‘रोएको जस्तो स्वर थियो, खासै कुरा बुझिनँ,’ उनले भने, ‘साँझपख फोन डायल गर्दा स्वीचअफ थियो ।’
अनुसन्धानमा जुटेको कास्की प्रहरीले फेवा विकास बैंकको लेखनाथ शाखाको सिसी टिभी फुटेज अध्ययन गर्न थालेको छ । बैंकको सबै फुटेज नियन्त्रणमा लिएको डिएसपी बज्राचार्यले बताए । घर पठाइएकी उनी कसरी र किन बेगनास तालमा पुगिन् भन्ने कुरालाई आधार मानेर प्रहरीले अनुसन्धान जारी राखेको छ ।
‘‘‘‘‘‘
अरुणले पठाएको पत्र
म्याडम, नमस्ते
म यो जानकारी गराउँदा दुखी छु कि मैले अनुशासनको कारणले गर्दा खिममाया पुनलाई हाजिर गरिसके पछि घर फिर्ता गरिदिए । मैले सबै कर्मचारीलाई हिजै अफिसको कामको बारेमा औपचारिक रुपमा इमेल गर्न अनुरोध गरेको थिएँ, तर खिममाया पुनले अस्वीकार गरिन् ।
मैले उनलाई आज पनि इमेल गर्नका लागि पर्याप्त समय दिएको थिएँ । उनले फेरि आज पनि अस्वीकार गरिन् । त्यसो भएको हुनाले मैले उनलाई घर पठाइदिएँ । सिस्टममा उनी हाजिर भएको देखिए पनि उनको अनुपस्थिति देखाइदिनुहोला । म उनलाई अझै पनि आफ्नो डिफेन्सका लागि मौका दिने पक्षमा छु । अब उनलाई के कस्तो कारबाही गर्नु पर्ने हो, त्यो पनि हेड अफिसले सोचोस्, निर्देशनको अपेक्षा गरेको छु ।
अरुण सापकोटा
शाखा प्रमुख
९फेवा विकास बैंकका लेखनाथ शाखा प्रबन्धक अरुण सापकोटाले माघ २५ गते बिहान १० बजेर ०७ मिनेट जाँदा केन्द्रीय कार्यालय मानव संसाधन विभाग प्रमुख लक्ष्मी देवकोटालाई पठाएको पत्र । samadhannews.com
प्रतिक्रिया राख्नुहोस्