सुन्दा नी अचम्म, हिदीका वासिन्दा तिन घण्टा पैदल हिडेर स्वास्थ्य सेवा
सन्तोष गौतम/विकल्प
म्याग्दी, ५ माघ ।
म्याग्दीको दुर्गम र बिकट बस्ती हिदीका बासिन्दाहरु सामान्य बिरामी पर्दा समेत तिन घण्टा पैदल हिडेर स्वास्थ्य संस्था पुग्न बाध्य भएका छन् ।
कुहुँ, बाबियाचौर र दरवाङ गाविसमा पर्ने हिदी गाउँका बासिन्दाहरु नजिक स्वास्थ्य संस्था नहुँदा आधारभुत स्वास्थ्य उपचार सेवाबाट बञ्चित भएका हुन् । कुहु र बाबियाचौरको ९ तथा दरवाङ गाविसको ४ नम्बर वडामा पर्ने हिदी गाउँमा एक सय ५० घरधुरीको बसोबास छन् ।

हिदीका बासिन्दाहरु सामान्य बिरामी पर्दा समेत तिन घण्टा पैदल हिडेर कुहुँ र बाबियाचौरमा रहेको स्वास्थ्य संस्थामा पुग्नुपर्ने अवस्था रहेको स्थानीय बासिन्दा ओमबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार उपचारका लागि स्वास्थ्य संस्था जान र आउनका लागि पुरै दिन लाग्ने गरेको छ ।
भिरपहरा र जंगलको बाटो हिडेर स्वास्थ्य संस्था पुग्न नसक्ने जेष्ठ नागरीक, अपाङ्ग, सुत्केरी, गर्भवती तथा विपन्नलाई उपचार सेवा प्राप्त गर्न समस्या भएको बुढाले बताउनुभयो । हिदीसंगै कुहुँको ८ नम्बर वडामा पर्ने थाईवाङ र दरवाङको दुखु गाउँका बासिन्दालाई पनि नजिक स्वास्थ्य संस्था नहुँदा समस्या भएको छ ।
सिटामोल र प्राथमिक उपचार समेत नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ । सहज र सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने ब्यवस्था गरिदिन हिदीका बासीन्दाले सरकारी निकायसंग आग्रह गरेका छन् । उनिहरुले हिदीमा सामुदायीक स्वास्थ्य ईकाई स्थापना गरेर स्वास्थ्य सेवा उपलब्ध गराउन माग गरेका हुन् । गाउँ परिषद्बाट स्वास्थ्य ईकाईको माग गरिएको सिद्धशान्ति माविका प्रअ होमनाथ पाण्डेले बताउनुभयो ।
दुखु, हिदी र थाईवाङका बासिन्दाका लागि पायक पर्ने हिदीमा स्वास्थ्य ईकाई स्थापना भएमा त्यहाँका बासिन्दाले राहत पाउने प्रअ पाण्डेको भनाई छ । स्वास्थ्य ईकाई स्थापनाको लागि पहल गरिदिन हिदीका अनुवाहरुले जिल्ला स्वास्थ्य कार्यालयका साथै राजिनितिक दलहरुलाई ध्यानाकर्षणपत्र बुझाउने तयारी गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्