बेनी – मल्लाज पदमार्गले बजारवासीलाई ‘मर्निङ वाक’मा सहज
प्रताप बानियाँ /विकल्प
म्याग्दी, फागुन ४ गते ।
पर्वतको बेनीस्थित कालीपुलदेखि माझफाँट गाविसको डिलफाँटसम्म पक्की पदमार्ग निर्माण भएपछि सो बाटो भएर हिँड्ने सर्वसाधारणलाई सहज भएको छ । विकास बेल्जियमको मुख्य आर्थिक सहयोगमा स्थानीय जनश्रमदान र सरोकारवाला संघसंस्थाको सहयोगमा निर्माण गरिएको गोरेटो बाटोले स्थानीयलाई म्याग्दी सदरमुकाम बेनीलगायतका ठाउँमा ओहोरदोहोर गर्न सजिलो भएको हो ।

विकास बेल्जियमबाट ५८ लाख ४२ हजार ३१४, माझफाँट गाविसको तीनलाख ७० हजार ३००, स्थानीय जनतामार्फत् दुईलाख ९८ हजार ४७९, जिल्ला विकास समिति पर्वतबाट ५० हजार र स्थानीयबासीको आठलाख ८३ हजार ५०० रुपैयाँ बराबरको श्रमदान गरी कुल ७४ लाख ४४ हजार ५९३ रुपैयाँको लागतमा उक्त गोरेटो बाटो निर्माण गरिएको थियो ।
कालीपुल–डिलफाँट गोरेटो बाटो निर्माण समिति माझफाँट पवर्तले दिएको जानकारी अनुसार एक हजार ३१५ मिटर लम्बाईको सो पदमार्गमा १ हजार ६६८ ओटा सिमेन्ट प्लाष्टर गरिएका सिँढीहरु छन् ।
समितिका सचिव टेकबहादुर बरुवालका अनुसार बाटोमा ६०० ओटा रेलिङसहितका पिल्लरहरु गाडिएका छन् ।
यसैगरी डिलफाँटभन्दा तलको संगमबाट मल्लाजको विद्याज्योती उच्च माविमा जानका लागि समेत ३५५ मिटर लम्बाइको पदमार्ग निर्माण गरिएको बरुवालले बताए । उक्त बाटोमा भने ४१३ ओटा सिँढी र १२७ ओटा पिल्लरहरु रहेको जनाइएको छ ।
२०६९ माघ २६ गते पदमार्ग निर्माण गर्न शुरु गरिएकोमा २०७२ साल जेठ १७ गते २६ महिनाको अवधिमा निर्माण सम्पन्न गरिएको सचिव बरुवालको भनाई छ ।
बेनी–मालढुङ्गा जोड्ने मोटरेबल पुल नजिकैबाट मल्लाजसम्म पुग्ने उक्त गोरेटो बाटो निर्माणका लागि बेल्जियममा रहेका म्याग्दी ताकमका ज्ञानबहादुर विक, समितिका अध्यक्ष रामबहादुर विक र सचिव टेकबहादुर बरुवाललगायत माझफाँट गाविस र गाउँबासीले पहल गरेका थिए । यसअघि सो बाटोमा परमपरागत ढर्राको अप्ठ्यारो बाटो भए पनि आवागमनका लागि त्यति सहज थिएन । पदमार्ग निर्माणले सबैभन्दा कलेज तथा स्कुल पढ्ने विद्यार्थीलाई सहज भएको छ । खासगरी बिहानी सत्रको कलेज पढ्नका लागि मल्लाजबाट बेनी आउने विद्यार्थीहरुले एकाबिहानै हिँड्नुपर्ने सो बाटो स्तरीय बनेपछि विद्यार्थीहरुले सहज महशुस गरेका छन् । यसबाहेक कार्यालय आउने कर्मचारी, शिक्षक, आफ्नो उत्पादन बजार पु¥याउने कृषकदेखि आन्तरिक तथा बाह्य पर्यटकहरुसमेत यसबाट लाभान्वित भएको सचिव बरुवालले बताए ।
पर्वतको माझफाँट घर भई हाल म्याग्दीको हंसवाहिनी निमाविमा अध्यापन गर्ने शिक्षक भीमबहादुर जिसीले पदमार्गको निर्माणले सो बाटो भएर आउजाउ गर्ने विद्यार्थी, शिक्षक, कर्मचारी, कृषकलगायत सर्वसाधारणलाई निकै सहज भएको बताए । ‘पहिले कहाँ लडिन्छ भन्ने किसिमको जोखिमयुक्त बाटो हिँड्नुपथ्र्यो,’ सोही बाटो भएर दैनिक विद्यालय आउजाउ गर्ने गरेका जिसीले भने, ‘विदेशमा रहेका दाजुभाईको सहयोग र स्थानीयको चासो मिल्दा सबैलाई सहज भएको छ ।’
पदमार्ग निर्माणले पर्वतको मल्लाज र बाँसखर्कका मात्रै होइन बेनीबजारमा ‘ठूलाबडा’लाई पनि सहयोग पुगेको छ । पहिले ‘मर्निङ वाक’प्रति चासो नदेखाउने बेनीका कतिपय कर्मचारी, व्यापारी तथा जिल्लास्तरका नेताहरु सो बाटो बनेपछि दैनिक डिलफाँट पुगेर बेनी झर्ने गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्