उत्पादीत चिज विक्री नहुँदा गाईपालक कृषकलाई लाखौको नोक्सानी
सन्तोष गौतम/विकल्प
म्याग्दी,फागुन ५ गते ।
म्याग्दीको घार र शिखका गाईपालक कृषकहरुलाई चिज बिक्री घटेपछि लाखौको नोक्सानी भएको छ ।
भुकम्प र नाकाबन्दीका कारण पर्यटक आगमन घटेपछि घार र शिखको पाउद्धारमा उत्पादीत चिज बिक्री नहुँदा कृषक अप्ठ्यारोमा परेका हुन् । म्याग्दी, मुस्ताङ र कास्कीका होटलमा पर्यटक आगमनसंगै चिजको खपत घटेको छ ।
प्रोट्रिन तत्व पाईने चिज पर्यटकले रुचाउने परिकार हो । पर्यटक आगमन र चिज बिक्री घटेपछि कृषकलाई लाखौ नोक्सानी हुनुका साथै उद्योग संकटमा परेको घार ५ स्थित हिमालयन चिज उत्पादन सहकारी संस्थाका सचिव श्याम खड्काले बताउनुभयो ।
वि.स २०७१ मा २३ लाख रुपैया मूल्य बराबरको चिज बिक्री गरेको उद्योगले यस वर्षको दश महिनाको अवधिमा १० लाखको मात्र बेचेको जनाएको छ । चिज समयमै बिक्री गर्न नसक्दा कुहिएर नष्ट भएको छ ।
शिखको पाउद्धार स्थित खयरबाराही चिज उद्योगले पनि बिक्री घटेपछि उत्पादन घटाएको जनाएको छ । उद्योगहरुले चिज बिक्री गर्न नसकेर उत्पादन घटाउँदा त्यसको प्रत्यक्ष असर कृषकको आम्दानीमा परेको छ ।
कृषकले उत्पादन गरेको दुध बिक्री नहुँदा उनिहरुलाई नोक्सानी भएको हो । पहिले दैनिक तिन सय लिटर दूध खपत गर्ने हिमालयन चिज उद्योगले हाल एक सय लिटरको मात्र चिज उत्पादन गरेको छ । घारका ३० जना भन्दा धेरै कृषकले उत्पादन गरेको दैनिक दुई सय लिटर दूध बजार टाढा हुँदा बिक्री हुन सकेको छैन् ।
लाखौ लगानी गरेर गाईपालन गरेका कृषकहरु दूध बिक्री नहुँदा धरासायी बनेका घार ५ का कृषक नारायण बरुवालले बताउनुभयो । ऋण तिर्नलाई धेरै कृषकले गाई बेच्न थालेका छन् । उद्योगले पूर्ण क्षमत्तामा चिज उत्पादन गर्ने आशामा रहेका कृषकहरुलाई अहिले घाँस, दाना, पानीको खर्च जुटाउन पनि धौ धौ भएको बरुवालले बताउनुभयो ।
पाँच महिनापछि नाकाबन्दी खुलेको र यस क्षेत्रका पर्यटकीय स्थलहरु सुरक्षित रहेको सन्देश प्रवाह भएकाले आगामी याममा पर्यटक आगमन बढेसंगै राहत मिल्ने गाईपालक कृषकहरुको अपेक्षा छ ।

प्रतिक्रिया राख्नुहोस्