म्याग्दीको एउटा परिवारको पीडा ः बुबालाई ढाँटे नेताले, दलालले ठगे छोरो, अमेरिका पुगेकी छोरी फर्किन रोगी भएर
म्याग्दी,
म्याग्दीको वेनी नगरपालिका १४ की सीता पौडेल महिला विकास अधिकृत हुनुहुन्थ्यो । स्टुडेन्ट भिषामा अमेरिका जाने सोच बनाएर उहाँले त्यो जागिर छाड्नुभयो ।
१० वर्षअघि अमेरिका जाँदै गर्दा केहि वर्ष पढ्ने र काम गर्ने सोच थियो । तर अमेरिका उहाँले सोचे जस्तो भएन । कमाउन र पढ्न गएकी सीता बिरामी भएर फर्कनु पर्यो ।
लामो समयसम्म बसेपनि पढ्दै काम गर्दा पढाई खर्च नै ठिक्क हुन्थ्यो । पढाई सकेर काम मात्रै गर्ने तयारी गर्दैगर्दा उहाँको हातको औंलामा घाउ निस्कियो ।
अमेरिकाको अस्पतालमा उपचार गराउन जानु भयो । तर डाक्टरले उपचार हुँदैन भनेर फर्काईदिए ।
अमेरिकामा उपचार नहुने भनेपछि उहाँ नेपाल फर्किनु भयो । भएको पैसा पहिले नै अमेरिका जाँदा सकिएको थियो ।
उपचार गराउने खर्च पनि भएन उहाँ तीन वर्षदेखि घरैमा थलिनुभएको छ । डाक्टरले उहाँलाई हात खुट्टाको मांशपेशी खुम्चने रोग लागेको भनेका छन् । सीताका बुबा गडनाथ पौडेल छोरीलाई भारतको पतन्जलीमा रहेको हरिद्धार उपचारमा लैजान खर्च जुटाउँदै हुनुहुन्छ ।
सीता थला परेर फर्किएपछि काठमाडौंको ताहाचाल क्याम्पसमा पढ्दै गरेका भाई सुमन पौडेल विदेश जाने चक्करमा लाग्नु भयो । सुमनले जापान जाने चक्करमा लागेर दुई लाख रुपैयाँ खर्च गर्नुभयो तर जान सक्नु भएन ।
घरमै रहेका उहाँका बुबा गडनाथले भन्नुभयो ‘पैसा मात्रै खर्च भयो, दलालले पैसा खाएर जापान पठाएनन् ।’ फेरी पोर्चुगल जान प्रक्रिया थाल्नुभयो दुई लाख रुपैयाँ खर्च पनि भयो । तर ससुरा पर्नेले पैसा खाएर विदेश पठाएनन् ।
छोरी सीता र छोरा सुमन मात्रै होइन आफैं पनि विदेश जाने रहरले बर्बाद भएको दुखेसो सुनाउनुहुन्छ गडनाथ । उहाँले पनि जापान जाने चाहनाले शिक्षकको जागिर छाड्नु भएको थियो । गाउँकै एक नेताले पार्टीलाई सहयोग गर्न भन्दै जापान पठाईदिने प्रलोभनमा पारे । गडनाथको शिक्षकको जागिर पेन्सन पाकिसकेको थियो । उमेर ५२ वर्ष भएपनि अझै ५–७ वर्ष पढाउने सोचमा रहेका उहाँले तत्काल जागिर छाड्ने कल्पना पनि गर्नुभएको थिएन । ‘फस्ट क्लास शिक्षक बन्ने सोच थियो’ उहाँले विगत सम्झँदै भन्नुभयो ‘नेताले भनेपछि जापान जान पाईएला भनेर कहिल्यै नसोचेको निर्णय गरेंं ।’
उहाँले जागिर छाडेपछि जापान जाने प्रक्रिया पनि सुरु भयो । तर अन्तिम समयमा कागजात मिलेन भनेर उहाँलाई पठाएनन् । पछि थाहा पाउनुभयो अर्कै मान्छे पठाएछन् । उहाँलाई हेरेको हेरै बनाए ।
२०२६ सालमा एसएलसी पास गरेका गडनाथले केहि वर्ष मुखियाको जागिर खानु भयो । तलव मासिक एक सय रुपैयाँ हुन्थ्यो । जागिर पाएपनि पढाईलाई निरन्तरता दिनुभयो । आईए पास गरेपछि उहाँको तलव बढेर दुई सय ९२ रुपैयाँ पुग्यो । धौलागिरी मावि सिंहामा राम्रो पढाएको भन्दै उहाँलाई सरकारले स्नातक पढ्न सहयोग गर्यो । तलव पनि बढेर ४ सय ५० रुपैयाँ पुगेको थियो । तर पछि २०५९ सालमा नेताका कुराले उहाँको सपना भत्ताभुंग बनायो । शिक्षकको पेन्सन अहिले मासिक १८ हजार रुपैयाँ हात पार्नुहुन्छ । तर उहाँलाई सन्तोष छैन् । तेत्रो जोडबल गर्दापनि जापान जान पाउनु भएन र फस्ट क्लास शिक्षक बन्ने सपना पनि अधुरै रहयो । उजिर कार्की/उज्यालो

प्रतिक्रिया राख्नुहोस्