बेनीमा वातावरण स्वच्छ बनाउन भूपू सहकारीद्वारा साईकल अभियान
प्रताप बानियाँ/विकल्प
म्याग्दी,फागुन ३ गते ।
दैनिकरुपमा बढ्दै गैरहेको वातावरण प्रदुषण कम गरी स्वस्थ्य जीवनयापन गर्ने उद्देश्यले म्याग्दीमा एक सहकारीको साईकल अभियान शुरु भएको छ । सदरमुकाम बेनीमा सञ्चालित भूपू सैनिक सहकारी बचत तथा ऋण सहकारी संस्थाले साईकलमा यात्रा गर्ने अभियान सञ्चालन गरेको हो ।

साईकल अभियानको शुरुवात गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले स्वस्थ जीबन जिउनका लागि स्वच्छ वातावरणको आवश्यकता पर्ने बताउँदै साईकलको यात्रा लाभदायी हुने बताउनुभयो । उहाँले साईकलको यात्रा अभियानमा मात्रै सीमित नराखी सहकारीमा आबद्ध सबैले प्रयोग गर्नुपर्नेमा जोड दिँदै यसलाई अन्य संघसंस्थाले पनि सन्देशका रुपमा लिनुपर्ने बताउनुभयो ।

दिनानुदिन बढ्दै गैरहेको ध्वनी तथा वातावरण प्रदुषणको मात्रा कम गर्न र पेट्रोलियम पदार्थको खपत पनि कम गर्न गराउनका लागि साईकल अभियान सञ्चालन गरिएको सहकारीका अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो । सहकारीका शेयर सदस्य, सञ्चालक र कर्मचारी सबैलाई साइकलको प्रयोग गरी यसको सन्देश प्रवाह गर्ने समेत उद्देश्य राखिएको अध्यक्ष सुवेदीको भनाई छ ।

‘स्वच्छ वातावरण, स्वस्थ्य जीवन’ भन्ने मूल नारासहित सन्देशमूलक साईकल अभियान शुरु गरिएको सहकारीले जनाएको छ । कार्यक्रमको अवसरमा प्रजिअ पाठक, ईन्द्रबक्स गणका प्रमुख सेनानी राजु कार्की, प्रहरी नायव उपरीक्षक विश्वराज खड्का, राजनीतिक दलका प्रमुख, सहकारी अभियन्ता, सहकारीका सञ्चालक, शेयर सदस्य, पत्रकारलगायतले साईकलमार्फत बेनीबजारको परिक्रमा गरेका थिए ।
सहकारीले सञ्चालक समिति, कर्मचारी र शेयर सदस्यहरु सबैलाई एकएक वटा साईकल उपलब्ध गराएको छ । जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले मन्तव्य राखेको कार्यक्रम सहकारीका अध्यक्ष सुवेदीको अध्यक्षता र निवर्तमान अध्यक्ष हेमराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्