प्रमको भारत भ्रमण दुई देशबिच उत्पन्न समस्या सामान्यीकरण गर्न केन्द्रित हुने
सन्तोष गौतम/विकल्प
म्याग्दी,फागुन गते ।
नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी हप्ता हुन लागेको भारत भ्रमण दुई देशबिच उत्पन्न समस्यालाई सामान्यीकरण गर्न केन्द्रित हुने बताउनुभएको छ ।
प्रेस चौतारी म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणपछि दुई देशबीच उत्पन्न भएको असमझदारी हटेर सम्बन्ध सुदृढीकरण हुने बताउनुभयो ।
सचिव ज्ञवालीले प्रधानमन्त्री ओलीले एक महिनाभित्रनै चिनको भ्रमण गर्नुहुने समेत जानकारी दिनुभयो । नेपाल सरकारले प्रधानमन्त्रीको चिन भ्रमणका क्रममा पेट्रोलीयम पदार्थको दिर्घकालीन ब्यापार लगायतका महत्वपूर्ण सम्झौता गर्ने तयारी भएको ज्ञवालीले बताउनुभयो ।
नाकाबन्दीबाट पाठ सिकेर नेपालको एउटै नाका र देशसंगको परनिर्भरताको अन्त्य गर्न चिनसंग ब्यापारीक सम्झौता गर्न लागिएको उहाँको भनाई छ । मधेशी नेताहरुको अनावश्यक हठका कारण पाँच महिनासम्म नेपाली जनताले दुख पाएको उल्लेख गर्दै केही दिनमा गठन हुने राजनितिक समितिले तिन महिनाभित्र सिमांकनको बिवाद टुंगो लगाउने ज्ञवालीले बताउनुभयो ।
नेपालमा जातीय राज्य तथा पहाड र मधेशलाई अलग गरीएको संघिय ब्यवस्था सफल नहुने ज्ञवालीले ठोकुवा गर्नुभयो । वर्तमान सरकार नेपाललाई बिदेशीको अनावश्यक हस्तक्षेप र दवावको समाना गरेर राष्ट्रिय स्वाधिनता र अस्मीता जोगाउन सफल भएको दावी गर्नुभयो । सचिव ज्ञवालीले सरकारले अब भुकम्पपछिको पुननिर्माण, संबिधान कार्यान्वयनका लागि नयाँ उचाईको राष्ट्रिय एकता, स्थानीय र प्रादेशीक निर्वाचनको तयारी र आत्मनिर्भरताका लागि लोडसेडीङको अन्त्य र कृषीको विकासमा प्राथमिकता दिने बताउनुभयो ।
१३ औ महाधिवेशनपछि नेपाली काँग्रेस पनि वर्तमान सरकारमा सहभागि भएर संबिधान कार्यान्वयनका लागि राष्ट्रिय एकता कायम गर्ने ज्ञवालीले विश्वास व्यक्त गर्नुभयो । सरकारले र पुननिर्माण प्राधिकरणले बर्खा अगावै भुकम्प पिडितलाई सुरक्षित तथा ब्यवस्थित आश्रयस्थलमा फर्काउन तिब्रताका साथ काम गरिरहेको उहाँले बताउनुभयो ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष मालती खत्रीको अध्यक्षता, अञ्चल सदस्य गोरखनाथ सुवेदीको स्वागत र शाखा सचिव प्रताप बानियाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्