बहिरा स्रोतकक्षाका विद्यार्थीहरुलाई दिदीबहिनी सहकारीको सहयोग(फोटो सहित)
प्रताप बानियाँ /विकल्प
म्याग्दी,फागुन १ गते ।
म्याग्दीको बेनी नगरपालिका–१४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयमा रहेको बहिरा स्रोतकक्षाका विद्यार्थीहरुलाई विद्यालय पोसाक सहयोग भएको छ । शनिबार श्रीपञ्चमी अर्थात् सरस्वती पुजाको दिनको अवसर पारी सदरमुकाम बेनीमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थामार्फत सहयोग गरिएको हो ।

महिलाहरुको आफ्नै व्यवस्थापन र सक्रियतामा सञ्चालित सहकारीले बहिरा स्रोतकक्षामा अध्ययनरत विभिन्न १८ जना विद्यार्थीहरुलाई सहकारीको मुठ्ठीदान कार्यक्रमबाट पोसाक सहयोग गरेको जनाएको छ । स्रोतकक्षामा अध्ययनरत विद्यार्थीहरुको पढाईमा सहयोग गर्ने उद्देश्यले १३ जना छात्र र ५ जना छात्रालाई लक्षित गरी सर्ट, पाईन्ट र स्कटका लागि कपडाको एकएक थान सहयोग गरिएको सहकारीका अध्यक्ष जमुना आचार्यले जानकारी दिइन् ।
यसैगरी सोही कार्यक्रमको अवसरमा कुहुँ–३ की एकल, वृद्ध र अपाङ्गता महिलालाई मुठ्ठीदानबाटै खाद्यान्न सहयोग गरिएको थियो ।
उनलाई सहकारीले ११ पाथी चामल, ५ लिटर खानेतेल, ५/५ केजीका दरले चिनी, दाल र नुन तथा २ प्याकेट चियापत्ती सहयोग हस्तान्तरण गरिएको बताइएको छ । सोही क्रममा सहकारीका ऋण उपसमिति सदस्य पुष्पा पुनले स्रोतकक्षाका विद्यार्थीहरुलाई नगद १ हजार १०० रुपैयाँ सहयोग गरेकी थिइन् ।

सहयोग ग्रहण गर्दै धौलागिरि माविका प्रधानाध्यापक केशवप्रसाद रेग्मीले सहकारीको सहयोग अत्यन्तै सराह्रनीय भएको बताउँदै स्रोतकक्षाका विद्यार्थीको अध्ययन तथा अध्यापन क्रियाकलापमा सहयोग पुग्ने बताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सदस्य प्रताप बानियाँ र बहिरा स्रोतकक्षाका शिक्षिका लक्ष्मी श्रेष्ठले मन्तव्य राखेका थिए ।

कार्यक्रम सहकारीका अध्यक्ष आचार्यको अध्यक्षता, उपाध्यक्ष ज्योती लामिछानेको स्वागत र सहसचिव सुगम श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्