एमाले म्याग्दीद्वारा आम्दानी खर्चको विवरण सार्वजनिक
प्रताप बानियाँ
म्याग्दी, माघ २६
नेकपा एमाले जिल्ला कमिटी म्याग्दीले मङ्गलबार सदरमुकाम बेनीमा एक कार्यक्रमको आयोजना गरी पार्टीको आयव्यय सार्वजनिक गरेको छ । एमाले म्याग्दीद्वारा गएको आर्थिक वर्ष २०७०/७१ र ०७१/७२ मा भएको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरिएको हो ।

एमाले म्याग्दीले आर्थिक वर्ष ०७०/७१ मा कुल आम्दानी आठलाख ९१ हजार ९७६ गरेको थियो भने खर्च आठलाख ७५ हजार ६७३ रुपैयाँ भएको जनाएको छ । यसैगरी गत आर्थिक वर्ष २०७१/७२ मा कुल आम्दानी तीनलाख ८८ हजार ८३ रुपैयाँ, खर्च तीनलाख ५५ हजार ८०० रुपैयाँ र बचत ३२ हजार २८२ रुपैयाँ रहेको नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए ।
पार्टीको केन्द्रीय लेखा परीक्षण आयोगका अध्यक्ष डा. पुष्प कँडेल, सदस्य विद्या ढकाल र ढाकाराम अर्यालले जिल्ला कमिटीको अन्तिम लेखापरीक्षण गरेका थिए । त्यस्तै पार्टी जिल्लाको आन्तरिक लेखापरीक्षण भने लेखापरीक्षक एकादन्त शर्माले गरेको बताइएको छ ।

आयव्यय विवरणको अन्तिम लेखापरीक्षण गरी सार्वजनिक कार्यक्रममा बोल्दै लेखा परीक्षण आयोगका अध्यक्ष पुष्प कँडेलले पार्टीको हिसाबकिताब राख्ने व्यवस्था सन्तोषजनक पाइएको बताएका छन् । उनले बाँकी बक्यौता र अन्य हिसाब मिलान गर्न पार्टी जिल्ला कमिटीलाई सुझाव समेत दिएका छन् ।

एमालेको केन्द्रीय कमिटी, अञ्चल, जिल्ला कमिटी र जनवर्गीय संघ सङ्गठनका केन्द्रीय कमिटीको हिसाबकिताबको अन्तिम लेखापरीण लेखा परीक्षण आयोगले गर्ने व्यवस्था रहेको छ । म्याग्दीमा अन्य पार्टीहरुको तुलनामा एमाले हिसाबकिताबमा पारदर्शी र समयसमयमा लेखापरीक्षण गर्दै आएको सो पार्टीले दावी गरेको छ । राजनीतिक पार्टीहरुले समयमा हिसाबकिताब नगर्दा आर्थिक अपारदर्शीताको आरोप समेत लाग्दै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्