अन्नपूर्ण पदमार्गमा डेढ अर्ब आम्दानी गुम्यो
विकल्प न्यूज
म्याग्दी,माघ २४ गते ।
अस्थिर राजनितिक अवस्था, बन्द हडताल र प्राकृतिक विपत्तिका कारण नेपालको प्रमुख पर्यटकीय गन्तब्य अन्नपूर्ण संरक्षण क्षेत्रमा सन २०१५ मा पर्यटक आगमन ३८ प्रतिशतले घटेको छ । पर्यटक आगमन ५० हजार जनाले घट्दा सो क्षेत्रमा कम्तीमा एक अर्ब ५० करोड रुपैयाँ आम्दानी गुमेको छ ।
पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गमा सन् २०१५ मा ३८ प्रतिशत पर्यटक घटेका छन् । भूकम्प, आन्दोलन, नाकाबन्दी र प्रतिकूल मौसमका कारण पदमार्गमा आउने पर्यटकको सङ्ख्या घटेको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)ले जनाएको छ । सन २०१५ मा ८० हजार जना पर्यटकले एक्याप क्षेत्रको भ्रमण गरेका छन् । यो संख्या अघिल्लो वर्षको भन्दा ५० हजार जना कम हो । पर्यटक आगमन घटेपछि यस क्षेत्रका होटल र पर्यटन व्यवसायी निराश बनेका शिखको फलाते स्थित बाराही लजका सञ्चालक बिमल सेञ्चुरीले बताए ।
मुस्ताङ, मनाङ, म्याग्दी, कास्की र लमजुङमा फैलिएको अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि विगतमा १४ दिन लाग्नेमा विभिन्न स्थानमा सडक सञ्जालको विस्तार भएका कारण अहिले नौ देखि १० दिनमा झरेको छ । एक्यापको तथ्याङ्क अनुसार यस क्षेत्रको पदयात्रामा आउने पर्यटक कम्तीमा पनि सात दिन बिताउने र प्रतिदिन तीन हजार खर्च गर्छन् । एक जना तेस्रो मुलकुका पर्यटकले एक्याप क्षेत्रमा भ्रमण गर्न दुई हजार रुपैया प्रवेश शूल्क सरकारलाई तिर्नुपर्छ । जस अनुसार ५० हजार जना पर्यटक आगमन घट्दा पदमार्ग क्षेत्रका बासिन्दाहरुलाई मात्रै एक अर्ब ५० करोड रुपैयाँ आम्दानी गुमेको देखिन्छ । प्राकृतिक विपत्ति र देशको अस्थिर राजनीतिका कारण अहिलेसम्मकै ठूलो घाटा व्यर्होनुपरेको घोडेपानी होटल ब्यवस्थापन समितिका अध्यक्ष जुनबहादुर पुनले बताए ।
भूकम्प गएको दुई महिनापछि आफ्नो लयमा फर्कन थालेको पर्यटन उद्योग संबिधान जारी भएलगत्तै चर्कीएको तराई आन्दोलन, नाकाबन्दी र ईन्धन अभावले बढी प्रभावित बनेको छ । म्याग्दी, मुस्ताङ र मनाङ जिल्लाको पर्यटन उद्योग अहिले आन्तरिक पर्यटकको भरमा धानीएको छ । पहाडी र हिमाली भुगोलको पदयात्रा, प्राकृतिक सुन्दरता, मगर, गुरुङ र हिमाली जिल्ला मनाङ मुस्ताङको तिब्बती संस्कृती, जिवनशैली र एकान्त वातावरणमा हिमालको नजिकबाट अवलोकन गर्नेहरुका लागि एक्याप क्षेत्र आकर्षक गन्तब्य हो ।
पाँच जिल्लाका ५७ गाविस समेटिएको अन्नपूर्ण पदमार्ग क्षेत्रमा ६०० को हाराहारीमा साना तथा ठूला होटल छन् । न्यून लगानीका पर्यटन व्यवसाय धरासायी बनेका छन् । भुकम्पले कुनै असर नगरेको यस पदमार्ग सुरक्षित रहेको विषयमा अन्तराष्ट्रिय स्तरसम्म प्रचारप्रसार हुन र देशको राजनितिक अवस्थामा सुधार आएमा पर्यटन ब्यवसाय पुरानै अवस्थामा फर्काउन सकिने अपेक्षा गरिएको छ । सन्तोष गौतम
प्रतिक्रिया राख्नुहोस्