म्याग्दीमा विद्युत कार्यालयको लापरवाही विरुद्ध अनेरास्ववियुको आन्दोलन
प्रताप बानियाँ /विकल्प
म्याग्दी,माघ २० गते ।
नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्र बेनीको कार्यालयको लापरवाहीका विरुद्ध अनेरास्ववियुले आन्दोलन गरेको छ । लोर्डसेडिङको समय तालिका विद्यार्थीहरुको पक्षमा नभएको भन्दै नेकपा एमालेको भातृ सङ्गठन अनेरास्ववियु र युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीले संयुक्तरुपमा आन्दोलन गरेका हुन । 
म्याग्दी बहुमुखी क्याम्पस र सदरमुकामस्थित विद्यालयका विद्यार्थीहरुको सहभागीतामा निस्किएको विद्यार्थीको जुलुसले विद्युत कार्यालयमा सूचना टाँस गरी तालाबन्दी गरेको हो । यसअघि अनेरास्ववियुले गत आइतबार विद्यार्थीहरुको समस्यालाई ध्यान दिएर समय तालिका मिलाई लोर्डसेडिङ गर्न माग गर्दै कार्यालय प्रमुखलाई ज्ञापनपत्र बुझाएको थियो । सो ज्ञापनपत्र बुझाएको ३ दिनभित्र लोर्डसेडिङको समय तालिका सार्वजनिक सूचनामार्फत लोर्डसेडिङ गर्न माग गरेपनि त्यसको सुनवाई नभएको हुँदा आफूहरु कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको दुवै सङ्गठनले जनाएका छन् ।
अघोषित रुपमा दैनिक भैरहेको लोर्डसेडिङबाट नजिकिदै गरेको प्रवेशिका परीक्षा एसएलसीको तयारी गरिरहेका हजारौं विद्यार्थी, सर्वसाधारण र उद्योगी व्यापारी मर्कामा परेको अनेरास्ववियु म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो । लोर्डसेडिङको समय तालिका विद्यार्थी अनुकुल नभएको हुँदा त्यसलाई सच्याएर पुनः तालिका सार्वजनिक गर्न माग गर्दै कार्यालयमा तालाबन्दी गरिएको उहाँले जानकारी दिनुभएको छ ।

देशमा भैरहेको चरम इन्धन अभावमा विद्यार्थीहरुले समस्या झेलिरहेको अवस्थामा विद्युत कार्यालयले बिहान, बेलुका र रातको समयमा लोर्डसेडिङ गरी विद्यार्थीमा झन् समस्या थपिदिएको अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो । उहाँले विद्युत कार्यालयले व्यापारीहरुको पक्षपोषण गर्नेगरी दिनमा लोर्डसेडिङ घटाएर बिहान र बेलुकाको समयमा बढाइरहेको आरोप समेत लगाउनुभयो ।
विद्यार्थीको मागलाई वेवास्ता गरी लोर्डसेडिङको तालिका नसच्याए पर्वतको मोदीखोला पावरहाउस र धौलागिरि अञ्चलका अन्य जिल्लाका विद्युत कार्यालयमा पनि पुगेर तालाबन्दी गर्ने विद्यार्थी नेता पौडेलले चेतावनी दिनुभयो । हाल धौलागिरि अञ्चलमा दैनिक ९ घण्टा लोर्डसेडिङ हुँदै आइरहेको छ भने म्याग्दीमा त्यसको औपचारिक जानकारी गराइएको छैन ।
प्रतिक्रिया राख्नुहोस्