म्याग्दीको गुर्जा मोवाईल र ईन्टरनेट सञ्जालमा जोडियो
सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ १८ गते ।
म्याग्दीको बिकट र दुर्गम गाविस गुर्जा सोमबार बिहानदेखि मोवाईल र ईन्टरनेट सञ्जालमा जोडिएको छ ।
नेपाल टेलिकम म्याग्दी शाखाले गुर्जामा एकैसाथ मोवाईल र ईन्टरनेट सेवा विस्तार गरेको हो । भिस्याट प्रबिधिको माईक्रो बिटीएस स्थापना गरेर गुर्जालाई आधुनीक सूचना प्रबिधिको सञ्जालमा जोडेको नेपाल टेलिकम म्याग्दी शाखा प्रमुख बिष्णुदेव शाहले जानकारी दिनुभयो ।
गुर्जाको डाँडामा राखिएको बिटिएसबाट एक पटकमा एक सय जनाले कुराकानी गर्न सक्ने क्षमत्ता रहेको छ । मोवाईलमा कुराकानीसंगै ईन्टरनेट पनि चलाउन सकिने शाहले बताउनुभयो । जिल्ला सदरमुकाम बेनीदेखि दुई दिन र छिमेकी गाविस लुलाङदेखि पुरै एक दिन जंगल र पहाडको यात्रा गरेपछि गुर्जा पुगीन्छ ।
गुर्जामा यसअघि रहेको चार लाईन भिस्याट प्रबिधिको टेलीफोनमा सर्वसाधारणको सहज पहुँच थिएन् । मौसममा खराबी हुदा बन्द हुने महँगो प्रबिधिको उक्त टेलीफोनमा एक कल फोन गर्न पनि घण्टौसम्म पालो पर्खेर बस्नुपर्ने बाध्यता थियो ।
मोवाईल र ईन्टरनेट सुबिधा उपलब्ध भएपछि गुर्जाबासीलाई देश बिदेशमा रहेका आफन्तजनसंग आधुनीक सूचना प्रबिधिको माध्यमबाट सम्र्पक गर्न सजिलो भएको गुर्जा गाविसका सामाजिक परिचालक झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।
मोवाईल सेवाले गुर्जाबासीमा उत्साह र खुसीयाली छाएको छ । सञ्चार सेवा विस्तारका लागि गुर्जाबासीले श्रमदान गरेर माईक्रो बिटिएसका उपकरण राख्ने भवन निर्माण र उपकरण ढुवानी गरेका थिए ।
गुर्जामा २३० घरधुरीको बसोबास छ । अल्पसंख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा प्राकृतिक सौन्र्यता, जडिवुटी, संस्कृती, आलु र भिरमहका लागि प्रसिद्ध छ । यो गाउँ पर्यटनका हिसावले पनि सम्भावनायुक्त छ ।
प्रतिक्रिया राख्नुहोस्