न्यानो कपडाको खोजीमा बालमन्दिर निमावी डाँडाखेतका विद्यार्थी
विकल्प न्यूज
म्याग्दी,माघ १६ गते । तस्विरमा देखिएका बेनी नगरपालिका–१४ डाँडाखेतस्थित बाल मन्दिर निमावीका विद्यार्थी हुन् । विद्यालयको नियमित प्रार्थनामा सहभागी भएका विद्यार्थीको यो तस्विर कुनै गर्मी मौसममा खिचिएको पनि होईन् । माघको दोस्रो हप्ता खिचिएको तस्विरमा देखिएका धेरै विद्यार्थी एकसरो कपडामा विद्यालय आउने गरेका छन् ।
आर्थिक अवस्था कमजोर भएकै कारण कठ्याग्रिदो जाडोमा पनि विद्यार्थीले प्रचण्ड गर्मीमा जस्तै पोशाकमा आउने गरेको विद्यालयका निमित्त प्रधानध्यापक रामप्रसाद शर्माले बताए । ‘आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको संख्या धेरै छन् । हामीले चाहेर पनि न्यानो कपडाको ब्यवस्था मिलाउन सकेका छैनौ’ शर्माले भने । जाडो मौसम सुरू भएपछि केही विद्यार्थीले नियमित विद्यालयमा समेत आउन कठिनाई भएको प्रअ शर्माले भने ।
दैनिक मजदुरी गरेर घरखर्च चलाउने दलित विद्यार्थीले पोशाकको ब्यवस्था समेत गर्न नसकेको विद्यालयले जनाएको छ ।
२०१६ सालमा स्थापना भएको विद्यालयमा १ सय ७४ जना विद्यार्थी अध्ययरत छन् । कुल विद्यार्थी मध्ये १–८ ११० अर्थात कुल विद्यार्थीको ६३.२२ प्रतिशत विद्यार्थी दलित विद्यार्थी छन् ।
दलित तथा गैरदलितका विद्यार्थीहरूको आर्थिक अवस्था कमजोर भएको कारण न्यानो कपडा ब्यवस्थापन गर्न नसक्दा नियमित पठनपाठन र शैक्षिक उपलब्धी हासिल गर्न समेत समस्या भइरहेको विद्यालयले जनाएको छ ।
‘बर्षा र जाडो बढ्यो भने धेरै विद्यार्थी विद्यालयमै आउँदैनन् । जाडो महिनामा विद्यार्थीलाई सकस भइरहेको छ’ विद्यालयका शिक्षक दिनेश विष्टले भने ।
गत शैक्षिक सत्रमा ५९.८ प्रतिशत शिकाई उपलब्धी हासिल गरेर धौलागिरि मावि स्रोतकेन्द्रमै नमुना विद्यालयको रुपमा चिनिएको विद्यालयले यसबर्ष विद्यार्थीको आधारभुत समस्या समाधान गर्न नसक्दा समस्याको सामना गरिरहेको छ । विद्यालयले विद्यार्थीलाई न्यानो कपडा सहयोगको वातावरण बनाउन समेत सरोकारवाला निकायलाई अनुरोध गरेको छ । हरिकृष्ण गौतम

प्रतिक्रिया राख्नुहोस्