म्याग्दीको भगवतीमा खानेपानीको समस्या
सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ १५ गते ।
म्याग्दीको भगवतीमा खानेपानीको चरम अभाव हुँदा स्थानीय बासीन्दाको दैनिकी कष्टकर बनेको छ ।
माग अनुसारको खानेपानी आपूर्ती हुन नसक्दा भगवतीका बासिन्दा समस्यामा परेका हुन् । वि.स २०२२ सालमा निर्माण भएको जैसीखोर घट्टपाखा खानेपानी आयोजनाको उपभोक्ता बढेपनी क्षमत्ता विस्तार हुन नसक्दा खानेपानीको अभाव सिर्जना भएको छ ।
घरायसी उपभोग, सरसफाई र गाईबस्तुलाई खुवाउने पानीका लागि पालो कुर्नुेपर्ने, एक घण्टा टाढाको मुहानबाट ओसार्नुुपर्ने समस्याले गर्दा दैनिकी प्रभावित बनेको भगवतीकी देवी खत्रीले विकल्प न्यूजलाई बताउनुभयो ।
घरनजिकैको सार्वजनीक धारामा दैनिक एक घण्टा मात्रै आउने पानीले नपुगेपछि नुहाउन, भाडा, कपडा सफा गर्न र गाईबस्तुलाई खुवाउने पानी लिन गाउँदेखि टाढा रहेको मुहानमा जाने गरेको खत्रीले बताउनुभयो ।
भगवती गाविसको ३, ४, ५, ६ र ७ नम्बर वडाका करिब छ सय घरधुरीमा खानेपानीको समस्या छ । एक लाख ५० हजार लिटर क्षमत्ताको टंकीमा संकलन हुने पानी दुई सय वटा सार्वजनीक धारामा पालो लगाएर वितरण गर्ने व्यवस्था मिलाइएको छ । मुहानमा पानी सुक्दै गएको छ । पुरानो संरचनाको वितरण प्रणालीका कारण अग्लो ठाउँमा रहेका धाराहरुमा पानी पुग्न समस्या छ ।
मुहानमा पानी सुक्दै जानु, नजिकै अर्को मुहान नहुनु, पानी संकलन गर्ने टंकीको क्षमत्ताले धान्न नसक्नु, वितरण प्रणाली ब्यवस्थित नुहुनु, उपभोक्ताको चाप बढ्नु र क्षमत्ता विस्तार हुन नसक्दा खानेपानीको चरम अभाव सिर्जना भएको जैसीथर घट्टपाखा खानेपानी आयोजनाका अध्यक्ष देवेन्द्रबहादुर मल्लले बताउनुभयो ।
अध्यक्ष मल्लका अनुसार गाविस, ईलाका परिषद् मार्फत भगवतीमा खानेपानीको समस्या समाधानका लागि नयाँ आयोजनाको माग गरिएको छ । चिमखोला गाविसको सिरानमा रहेको मुहानबाट पानी ल्याउन छलफल अघि बढाइएको छ ।
खानेपानी तथा सरसफाई सबडिभिजन कार्यालयले भगवती, बेग, दग्नाम र चिमखोला गाविसलाई लक्षित गरेर बृहत खानेपानी आयोजना सञ्चालन गर्ने तयारी गरेको कार्यालय प्रमुख ईञ्जिनियर शेखरचन्द्र केसीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्