बेनीमा खाद्य सुरक्षा प्रतिकार्य विश्लेषण तालीम सुरु
सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ १४ गते ।
म्याग्दीको बेनीमा बिहीबारदेखि खाद्य सुरक्षा प्रतिकार्य विश्लेषण तालिम सुरु भएको छ । राष्ट्रिय योजना आयोग, कृषि विकास मन्त्रालय, विश्व खाद्य कार्यक्रम, संयुक्त राष्ट्रिय विकास कार्यक्रमको आयोजना तथा जिल्ला कृषि विकास कार्यालयको संयोजनमा सुरु भएको तालीम चार दिनसम्म सञ्चालन हुने जनाइएको छ ।
जिल्ला स्थित विषयगत कार्यालय र गैरसरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको तालीम मार्फत म्याग्दी जिल्लाको खाद्य सुरक्षाका लागि अबलम्बन गरिने रणनीती तयार पार्ने जनाइएको छ ।
तालीमको उद्घाटन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी यामबहादुर चोखालले खाद्य सुरक्षाको जोखिम न्युनीकरणका लागि रणनीती बनाउँदा उत्पादन वृद्धी, खाने ब्यवहारमा सुधार र खेती योग्य जमिनको सदुपयोगमा जोड दिनुपर्ने बताउनुभयो ।
स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले खाद्य सुरक्षा रणनीतीलाई आगामी वर्षदेखि लागु हुने गरि तयार पार्न लागिएको आवधिक जिल्ला विकास योजनामा समेट्ने बताउनुभयो । कार्यक्रममा म्याग्दी जिल्ला खाद्यान्न उत्पादनका हिसावले सुरक्षित रहेपनि ‘भाते’ ब्यवहारले चुनौती थपिनएको सहभागिहरुले बताएका थिए ।
क्षेत्रीय कृषि निर्देशनालय पोखराका प्रकाश आचार्यले म्याग्दीमा खाद्यान्न उत्पादनका हिसावले सुरक्षित रहेपनि भातलाई मात्रै खानाको रुपमा बुझ्ने र मकै, कोदो, गहुँ जस्ता खाद्यान्नलाई मदिरा उत्पादनमा बढी प्रयोग गर्ने चलनले चुनौती थपेको बताउनुभयो ।
उक्त कार्यक्रममा नेपाल खाद्य सुरक्षा अनुगमन प्रणालीका कृष्णसिङ थापा र क्षेत्रीय संयोजक ऋषिनाथ तिवारीले खाद्य सुरक्षा रणानीतिको आवश्यकता तथा प्रक्रियाको बारेमा जानकारी गराउनुभएको थियो । बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन योजना अधिकृत ज्योती क्षेत्रीले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्