नेपाली काँग्रेसको गाउँ तथा नगर वडा अधिवेशनको तयारी पुरा
सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ १४ गते ।
म्याग्दीमा नेपाली काँग्रेसको शुक्रबार हुन लागेको गाउँ तथा नगर वडा अधिवेशनको तयारी पुरा भएको छ ।
३५ वटै गाविस र बेनी नगरपालीकाको १४ वटै वडामा अविधेशनका लागि खटिएका मतदान अधिकृत निर्वाचन सामाग्री सहित पुगीसकेको नेपाली काँग्रेस म्याग्दीले जनाएको छ ।
बिहीबार बेलुकीसम्म मतदान अधिकृतहरु सम्बन्धित ठाउँमा पुगीसकेको र सबै तयारी पुरा भएको नेपाली काँग्रेस म्याग्दीका सभापति तथा सांसद रेशमबहादुर बानियाँले जानकारी दिनुभयो ।
गाउँ तथा नगर अधिवेशन सफल पार्न काँग्रेसले सबै क्रियाशिल सदस्यहरुलाई परिचालीत र सक्रिय हुन निर्देशन दिएको छ । गाउँ अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनुका साथै जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट हुनेछन् ।
गाविसबाट सभापति र ५ जना आरक्षण सिटका सहित १० जना तथा नगरपालीकाको वडाबाट चार जना प्रतिनिधि छनौट हुने काँग्रेसको बिधानमा उल्लेख छ । धेरै आकांक्षि भएका गाविस र बेनी नगरपालीकाको वडाहरुमा प्रतिनिधि तथा पदाधीकारीमा तिब्र प्रतिस्पर्धा हुने देखिएको छ ।
माघ को २५ गते नेपाली काँग्रेस म्याग्दीको छैठो जिल्ला अधिवेशन हुदैछ । जिल्ला अधिवेशनमार्फत चयन हुने नेतृत्वका लागि वर्तमान सभापति तथा सांसद बानिया, उपसभापति खम्बीर गर्बुजा, महासमिति सदस्य नेत्रबहादुर महत र महिला संघकी सभापति बिमला गौचन आकांक्षी देखिनुभएको छ ।
यसैगरी सचिवमा जनजाती नेता ओम छन्त्याल, महाधिवेशन प्रतिनिधिमा युवा नेता धनबहादुर छन्त्याल र भरत रकालले यसअघिनै उमेद्वारी घोषणा गरेर प्रचारप्रसारमा जुटेका छन् । नेपाली काँग्रेसको जिल्ला तथा केन्द्रिय समितिमा पुग्नका लागि गाउँ तथा वडाबाट चुनिनुपर्ने भएकाले नेता कार्यकर्ताको ग्रामिण क्षेत्रमा सक्रियता बढेको छ । म्याग्दीमा काँग्रेसका एक हजार ५१६ जना क्रियाशिल सदस्य छन् ।
प्रतिक्रिया राख्नुहोस्