काँग्रेसका गाउँ कार्यसमितिमै तिब्र प्रतिस्पर्धा
विकल्प न्यूज /बेनी
म्याग्दी,माघ १३ गते ।
नेपाली काँग्रेसको गाउँ र जिल्ला अधिवेशन नजिकिदै गर्दा म्याग्दीका नेता कार्यकर्तामा चुनावी सरगर्मी बढेको छ ।
नेपाली काँग्रेसको माघ १५ गते गाउँ तथा नगर वडा र २५ गते जिल्ला अधिवेशन हुँदैछ । म्याग्दीमा काँग्रेसका नेता कार्यकर्ताहरु गाउँ अधिवेशनका लागि ग्रामिण क्षेत्रमा केन्द्रित भएका छन् ।
गाउँ कार्यसमितिमा चयन हुने र जिल्ला अधिवेशनमा प्रतिनिधि बन्नका लागि नेताहरुले ग्रामिण क्षेत्रमा कार्यकर्ता भेटघाट, छलफल र भेलालाई तिब्रता दिएका छन् ।
जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधी र महासमिति सदस्यमा चुनीनका लागि गाउँबाटै निर्वाचित हुनुपर्ने प्राबधान भएकाले अन्य समयमा खासै गाउँ नजाने नेताहरु समेत यतिबेला ग्रामिण क्षेत्रमा भेटघाटमा व्यस्त भएका छन् । आँकाक्षी धेरै भएकाले गाउँबाट जिल्ला अधिबेशनका लागि प्रतिनिधि बन्नेहरुबीच तिब्र प्रतिस्पर्धा हुने देखिएको नेपाली काँग्रेस म्याग्दीका युवा नेता कृष्णबहादुर बरुवालले बताउनुभयो ।
पुरानादेखि नयाँ पुस्ताका नेताहरु आंकाक्षी देखिएकाले केही गाविस तथा नगरपालीकाको वडाहरुमा चुनाव हुने संकेत देखिएको बरुवालको भनाई छ । बेनी नगरपालीकाको १, २, ३, ४, ६, ७, १०, ११ र १२ वडाका साथै दरवाङ, घार, भकिम्ली, कुहुँ, बाबियाचौर, देविस्थान, पात्लेखेत, दग्नाम, भगवती लगायतका गाविसमा आकाक्षीहरु धेरै देखिएका छन् ।
पदाधीकारी, कार्यसमिति सदस्य र जिल्ला अधिवेशन प्रतिनिधि चयनका लागि सहमतिको प्रयास हुने र सहमती नभए निर्वाचनमा जाने व्यवस्था रहेको काँग्रेस निटक टे«ड युनियन नेता दुर्गाराम सुवेदीले बताउनुभयो । नेपाली काँग्रेसको म्याग्दीमा एक हजार ५१६ जना क्रियाशिल सदस्य छन् ।
गाउँ अधिवेशन मार्फत जिल्ला अधिवेशनका लागि सभापति सहित १० जना प्रतिनिधि छनौट हुने ब्यवस्था छ । यसैगरी नगरपालीकाको एक वटा वडाबाट एक जना महिला सहित चार जना प्रतिनिधि छनौट हुनेछन् । गाउँ कार्यसमितिबाट प्रतिनिधि छनौट गर्दा महिला, दलित, आदीवासी जनजाती र पिछडा बर्गको ५ जना आरक्षणको व्यवस्था छ ।
म्याग्दीका ३५ गाविस र १४ वटा नगर वडामा अधिवेशन गर्न मतदान अधिकृतलाई बुधबार प्रशिक्षण दिएर कार्यक्षेत्रमा पठाउन सुरु गरिएको जिल्ला सभापति तथा सांसद रेशम बानियाले बताउनुभयो । केन्द्रले म्याग्दीमा अधिवेशन गराउन अर्जुन चौलागाईलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएर पठाएको छ ।
यसैबीच नेपाली काँग्रेसको जिल्ला कार्यसम्पादन समितिको बुधबार सम्पन्न २९ औ बैठकले गाउँ तथा नगर अधिवेशन सफल बनाउन आवश्यक तयारीमा जुट्न र परिचालन हुन कार्यकर्ताहरुलाई अनुरोध गर्ने निर्णय गरेको प्रचार बिभाग प्रमुख अजयमिलन श्रेष्ठले बताउनुभयो ।
नेपाली काँग्रेस म्याग्दीको माघ २५ गते हुने जिल्ला अधिवेशन मार्फत चयन हुने कार्यसमितिको सभापतिमा वर्तमान सभापति तथा सांसद रेशम बानिया, उपसभापति खम्बीर गर्बुजा, महासमिति नेत्रबहादुर महत र महिला बिभाग प्रमुख समेत रहनुभएकी महिला संघकी सभापति बिमला गौचनले दावी गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्