म्याग्दीलाई नेपालकै पहिलो आधारभुत खानेपानी सुबिधा पुगेको जिल्ला घोषणा गर्ने लक्ष्य
सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ १३ गते ।
अबको एक वर्षभित्र म्याग्दीका शतप्रतिशत घरधुरीमा आधारभुत खानेपानी सुबिधा पु¥याउने तयारी गरिएको छ ।
नयाँ योजना निर्माण, पुराना आयोजनाको क्षमत्ता विस्तार तथा मर्मत गरेर सबै घरधुरीमा स्वच्छ र सफा खानेपानी सुबिधा पु¥याउन लागीएको खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयले जनाएको छ ।
हाल ९१.४४ प्रतिशत घरधुरीमा आधारभुत खानेपानी सुबिधाको पहुँच पुगेको म्याग्दीमा चालु आर्थिक वर्षमा निर्माणाधिन अवस्थामा रहेका आयोजनाहरुबाट थप ८.५६ प्रतिशत घरधुरीमा खानेपानी सुबिधा विस्तार हुने सब डिभिजन प्रमुख ईञ्जिनियर शेखरचन्द्र केसीले बताउनुभयो ।
म्याग्दीमा २४ हजार १४४ घरधुरी रहेको छ । सब डिभिजन कार्यालय, जिविस, नगरपालीका, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना लगायत निकायबाट खानेपानी सुबिधा नपुगेको ठाउँमा नयाँ खायोजना निर्माण गर्ने र पुराना योजनाको क्षमत्ता विस्तारमा प्राथमिकता दिइएको छ ।
‘नयाँ योजना निर्माणका क्रममा खानेपानी सुबिधाबाट बञ्चित बस्तीलाई प्राथमिकता दिनुका साथै घरधुरी सर्वेक्षण मार्फत तथ्याङ्क प्रमाणीत गरेर म्याग्दीलाई नेपालकै पहिलो आधारभुत खानेपानी सुबिधा पुगेको जिल्ला घोषणा गर्ने लक्ष्य छ’ केसीले भन्नुभयो ।
मुहान सफा र व्यवस्थित भएको, मुहानबाट प्रसोधन गरि धाराबाट वितरण गरिने खानेपानीमा सर्वसाधारणको सहज पहुँच भएको अवस्थालाई आधारभुत खानेपानी सुबिधा भएको मानिएको छ । खानेपानी सुबिधा विस्तारसंगै सुरक्षा र गुणस्तरमा प्राथमिकता दिइने ईञ्जिनियर केसीले बताउनुभयो ।
स्वच्छ र सफा खानेपानी सुबिधा मार्फत दुषित पानीका कारण हुने स्वास्थ्य समस्या न्युनीकरण गर्ने लक्ष्य रहेको छ । यसैबीच म्याग्दीमा निर्माण हुने खानेपानी आयोजनाको दिगो संचालन, व्यवस्थापन र सर्वसाधारणको सुबिधाका लागि एक घर, एक धाराको अवधारणा लागू भएको छ । हाल म्याग्दीको एक हजार ७७७ घरधुरीमा निजी धारा जडान भएका छन् ।
बेनी नगरपालीका, राम्चे, घतान, बेगखोला, बाबियाचौर, अर्मन, ताकम, देविस्थान, हिस्तान, दरवाङ लगायतका गाविसहरुमा निजी धारा प्रणालीका आयोजना निर्माण हुदैछन् । अबको दश वर्षभित्र म्याग्दी जिल्लामा प्रत्येक घरमा धारा जडान गर्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया राख्नुहोस्