तरकारी खेतीमा भविष्य देख्ने युवा
सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ ११ गते ।
म्याग्दीका एक कृषकले ‘अन्तरे खेती’ प्रबिधिबाट अतिरीक्त आम्दानी गर्न सफल भएका छन् ।
बेनी नगरपालीका १ लामगराका युवा कृषक महेन्द्र बोगटीले तरकारी खेतीमा ‘अन्तरे’ बिधिको प्रयोग गरेर अतिरिक्त आम्दानी गर्नुभएको हो । ६ वर्षदेखि ब्यवसायीक तरकारी खेतीमा संलग्न २९ वर्षिय बोगटीले एउटा जातको तरकारी लगाएको ठाउँको छेउछाउ र बिच भागको खाली ठाउँमा अर्को जातको तरकारी लगाउनु भएको छ ।
हाल छ रोपनी जग्गामा आलु लगाएका बोगटीले छेउछाउ तथा खाली ठाउँमा मुला र सागको मिश्रीत खेती गर्नुभएको छ । ‘मिश्रीत र अन्तरे खेती गर्दा जग्गा खेर जादैन’ बोगटीले भन्नुभयो ‘एकै पटक दोहोरो लाभ लिन सकिन्छ ।’ बन्दा, काउली, ब्रोकाउली आदी बाली लगाएको ठाउँमा धनीया, प्याज, लसुन जस्ता बाली लगाउन सकिने बोगटीको अनुभव छ ।
गत सिजनमा करेला, घिरौला, चिचिन्डा, खुर्सानी र सिमीको झालमुनी लगाएको साग बेचेर बिस हजार रुपैयाँ अतिरित्त आम्दानी गरेको बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार पलास्टीक टनेलमा गोलभेडा खेतीका अतिरीक्त बेमौसमी तरकारी खेती गर्न सकिन्छ ।

साहीत्य लेखनमा पनि सक्रिय रहदै आउनुभएका बोगटीले हाल आफ्नो पुख्यौली ६ रोपनी र पाँच रोपनी भाडाको जग्गामा तरकारी खेती गर्नुभएको छ । मौसमी र बेमौसमी तरकारी खेतीबाट खर्च कटाएर वार्षिक एक लाख ५० हजार रुपैयाँ बचत गर्न सफल बोगटीले खेती विस्तार गर्ने योजना बनाउनु भएको छ ।
बेनी बजार नजिक पर्ने र मोवाईल सुबिधाले गर्दा बजारीकरणको समस्या नभएपनि ढुवानीका लागि भने भरीया लगाएर अथवा आफैले पिठ्युमा बोकेर बजारमा जानुपर्ने बाध्यता रहको छ । गत वर्ष युवा लक्षित तरकारी खेती कार्यक्रम अन्तरगत जिल्ला कृषि विकास कार्यालयबाट ४० हजार रुपैयाँ अनुदान पाएका कृषक बोगटीले प्राबिधिक ज्ञान सिप पाएमा सजिलो हुने अपेक्षा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्