यसरी फिर्ता भयो चर्को भाडा(फोटो सहित)
विकल्प न्यूज / बेनी
म्याग्दी,माघ १० गते ।
म्याग्दीका यातायात व्यवसायीले इन्धन आपूर्ती र वितरण सहज बन्दै गएपछि गत हप्ता समायोजन गरेको भाडादर कार्यान्वयन गरेका छैनन् ।
प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकको नेतृत्वमा आईतबार गरिएको अनुगमनका क्रममा गत बिहीबारदेखि लागु हुनेगरि समायोजन भएको भाडादर कार्यान्वयन नभएको पाइएको हो ।
माघ ६ गते जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात ब्यवसायी सुरक्षा निकाय, इन्धन बिक्रेता र सुरक्षा निकायको संयुक्त बैठकले इन्धन आपूर्ती तथा वितरण सहज बनेकाले पहिले निर्धारण भएको भाडादर कायम गर्ने निर्णय गरेको थियो ।
यातायात ब्यवसायीले सहमति विपरीत आफूखुसी पहिलेकै भाडा लिएको पाइएको बेनी–दरवाङ सडकको डम्मरा खण्डमा अनुगमनका लागि पुग्नुभएका प्रजिअ पाठकले बताउनुभयो । प्रजिअ पाठकको नेतृत्वमा जिल्ला ट्राफिक प्रहरी ईञ्चार्ज रामचन्द्र क्षेत्री र पत्रकारहरुको टोलीले अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा यात्रुबाट ब्यवसायीले लिएको तोकिएको भन्दा भाडा फिर्ता गर्न लगाउनुका साथै सम्बन्धित सवारी धनीलाई नियम अनुसार कारबाही गरिएको छ । कुहुँबाट बेनी आउँदै गरेको ध १ ख २८२ नम्बरको माईक्रोबसले दुई सय ५० रुपैयाँ भाडादर तोकिएको भएपनि प्रतियात्रु तिन सय रुपैयाँ लिएको भेटिएपछि ५० रुपैयाँ फिर्ता गराइएको थियो ।

यसैगरी दरवाङबाट बेनी आउदै गरेको ध १ ख ४८० नम्बरको माईक्रोबसका यात्रुहरुलाई पनि बढी तिरेको भाडा फिर्ता गराइएको छ । २४ किलोमिटर दुरीको सो रुटको भाडादर १९५ रुपैयाँ प्रतियात्रु भएपनि म्याग्दी जिप तथा बस सञ्चालक समितिको टिकटमै दुई सय ५० रुपैयाँका दरले भाडा लिएको भेटिएको छ ।
सो रुटका ट्याक्सीहरुले पनि बढी भाडा लिएको पाइएको छ । यातायात ब्यवसायीहरुले पम्पले दिएको डिजेल पर्याप्त नभएको र कालोबजारीको डिजेल हालेको बाहना बनाएर बढी भाडा लिने गरेका छन् । जिल्लामा एक हप्तायता आवश्यकता अनुसारको डिजेल पेट्रोल भित्रीएको र पालोका गाडीलाई गन्तब्यमा पुग्न र फर्कन पुग्ने डिजेल उपलब्ध गराउने ब्यवस्था मिलाइएको प्रजिअ पाठकले बताउनुभयो ।
सम्बन्धित यातायात ब्यवसायी संस्थालाई पत्राचार गरि समायोजन भएको भाडादर कार्यान्वयन गर्न लगाउने र अनुगमनमा कडाई गर्ने स्थानीय प्रशासनले जनाएको छ । म्याग्दीदेखि लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनहरुले तोकीएको भन्दा २० रुपैयादेखि दुई सय रुपैयासम्म बढी भाडा लिने गरेका छन् । सन्तोष गौतम तस्विर /ठाकुरप्रसाद आचार्य





प्रतिक्रिया राख्नुहोस्