सार्वजनिक यातायातमा अव साविककै भाडादर तिर्नुहोस (भाडादर सहित )
विकल्प न्यूज/बेनी
माघ ६ गते ।
म्याग्दी जिल्ला भित्र चल्ने छोटा र लामो दुरका सार्वजनिक यातायातका साधनहरुमा पुरानै भाडादर कायम गरिएको छ । भारतिय नाकाबन्दीका कारण इन्धन असहज भएपछि यातायात व्यवसायीहरुले भाडादर वृद्धी गरेका थिए । पछिल्लो समय जिल्लामा इन्धन सहज हुँदै गएपछि वृद्धी गरेको भाडादर समायोजन हुनुपर्ने माग उठ्दै आएको थियो ।
जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको यातायात ब्यवसायी, प्रहरी, प्रशासन, उद्योग वाणिज्य संघ र पेट्रोलीयम पदार्थ ब्यवसायीको संयुक्त बैठकले पुरानै भाडादर कायम गर्ने निर्णय भएको हो ।

बैठकले जिल्ला भित्र रहेका तीनवटै पम्पबाट सहज इन्धनको ब्यवस्था मिलाउने प्रतिबद्धता समेत जनाएपछि यातायात ब्यवसायीले समेत पुरानै भाडा कायम गर्ने प्रतिबद्धता जनाएका हुन । यसअघि म्याग्दीबाट लामो तथा छोटो दुरीमा चल्ने सार्वजनीक सवारी साधनले २० देखी ३० प्रतिशतसम्म भाडा बढाएका थिए ।
बिहीबारदेखि लागू हुनेगरि लामो तथा छोटो दुरीका सबै सवारी साधनले पहिलेकै भाडादर कायम गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले बताउनुभयो । उहाँले कसैले बढी लिएको पाइएमा कडा कारवाही हुने समेत बताउनुभएको छ ।
उहाँले पम्पबाट वितरण गरिएको इन्धनलाई समेत प्रशासन र प्रहरीले निगरानी गरिरहेको बताउँदै यात्रु लिएर गएको सवारीसाधनलाई सहज रुपमा इन्धन उपलब्ध गराउने छलफल भएको छ । बैठकमा प्रजिअ पाठक, प्रहरी नायव उपरिक्षक विश्वराज खड्का, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन विश्वकर्मा, पत्रकार र पम्पका संचालक सहित यातायात ब्यवसायीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्