यि हुन बेनीमा अस्वस्थकर कुखुराको मासु विक्रि गर्ने
विकल्प न्यूज /बेनी
माघ ६ गते ।
म्याग्दीको बेनीमा अस्वस्थकर मासु बेच्ने दुई जना ब्यापारीलाई बुधबार प्रहरीले रङगेहात पक्राउ गरेको छ ।
बेनी नगरपालीका ४ हाँडेभिर स्थित रोशनी फ्रेस हाउसका सञ्चालक २८ वर्षिय प्रेमचन्द्र साह र २४ वर्षिय कृष्ण गुप्तालाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भारतको बेतिया थाना मझौला गाविस सेक्टर १६ का साह र गुप्ताले मरेको कुखुरालाई बिक्री गर्ने प्रयोजनको लागि खुईलाउदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।
पक्राउ परेका साह र गुप्ताले चितवनबाट मंगलबार राती गाडीमा ल्याउदै गर्दा बाटैमा मरेको कुखुरालाई बेच्ने तयारी गरेको स्वीकार गरेका छन् । कुखुरा खुईलाउदै गरेको अवस्थामा प्रहरी निरिक्षक लोकेन्द्रसिंङ गुरुको नेतृत्वमा गएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
उनिहरुको साथबाट १२७ किलोग्राम तौल भएको ५० वटा मरेका कुखुरा बरामद गरि परिक्षणका लागि पशु सेवा कार्यालयमा पठाइएको छ । पक्राउ परेका मासु ब्यवसायीलाई अनुसन्धानपछि कालोबजारी नियन्त्रण ऐन २०३२ अन्तरगत मुद्दा चलाउने प्रनाउ खड्काले बताउनुभयो ।

उक्त ऐन अन्तरगत दोषी ठहरीएमा दुई वर्ष जेल सजाय हुने कानुनी ब्यवस्था रहेको छ । बेनीका मासु पसलहरुले कुखुरा, राँगा र खसीबोकाको अस्वस्थ्कर रुपमा बध गर्ने र मासु पसल सरसफाईमा ध्यान नदिएको उपभोक्ताहरुको गुनासो छ । सन्तोष गौतम

प्रतिक्रिया राख्नुहोस्