सिंगामा कृषि उपज संकलन केन्द्र सञ्चालन
सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ ६ गते ।
म्याग्दीको बेनी नगरपालीका १४ सिंगामा बुधबारदेखि कृषि उपज संकलन केन्द्र सञ्चालन भएको छ ।
स्थानीय कृषकहरुले उत्पादन गरेको तरकारी, फलफुल संकलन गरेर बिक्री र बजारीकरण गर्ने उद्देश्यले शुभकामना कृषि सहकारी संस्थाले केन्द्र सञ्चालन गरेको हो । बेनी नगरपालीका १३ र १४ नम्बर वडाका कृषकहरु उक्त केन्द्रबाट लाभान्वित भएका संस्थाका लेखा समितिका संयोजक रामप्रसाद शर्माले जानकारी दिनुभयो ।
दुई वटा वडामा रहेका १४ वटा कृषक समूहमा करिब तिन सय कृषक आवद्ध द्धन् । ‘कृषकले उत्पादन गरेको तरकारी बेच्न डोको बोकेर बजार र ग्राहकको घरघरमा पुग्नुपर्ने समस्याबाट मुक्त भएका छन्’ शर्माले भन्नुभयो ‘केन्द्रमा कृषि उपज संकलन, बिक्री वितरण र बजारीकरणको व्यवस्था भएपछि समयको बचत हुनुका साथै कृषकले उचित मूल्य नपाउने तथा उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने समस्या पनि हटेको छ ।’
सहकारीको कार्यालयमा बिहान बेलुकाको समयमा कृषकहरुबाट तरकारी संकलन केन्द्रबाट बिक्री गर्ने व्यवस्था मिलाइएको छ । सिंगामा बिक्री नभएको तरकारी सहकारीले नजिकको तातोपानी र सदरमुकाम बेनी बजारमा पठाउन थालेको छ । संस्थाका सञ्चालकहरुले पालो लगाएर स्वमसेवकको रुपमा केन्द्र सञ्चालन गर्न सहयोग गर्ने भएका छन् ।
संकलन केन्द्रको जिल्ला कृषि विकास कार्यालय म्याग्दीका बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले उद्घाटन गर्नुभयो । संस्थाका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षता, सचिव गोविन्द पौडेलको सञ्चालन र लेखा समिति संयोजक रामप्रसाद शर्माको स्वागत मन्तब्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।


प्रतिक्रिया राख्नुहोस्