कृषि मेला प्रदर्शनीमा ४८ जना कृषक पुरस्कृत
सन्तोष गौतम /विकल्प
म्याग्दी,माघ ६ गते ।
म्याग्दीमा उत्कृष्ट फसल उत्पादन गर्ने ४८ जना कृषकहरु पुरस्कृत भएका छन् ।
बाबियाचौर ८ सहश्रधारामा आयोजित बृहद कृषि मेला प्रर्दशनीका अवसरमा जिल्ला कृषि विकास कार्यालयले उत्कृष्ट कृषक छनौट गरेर पुरस्कृत गरेको हो । प्रर्दशनी समापनका क्रममा मंगलबार सात वटा बिधामा प्रथम, दितृय, तितृय र सान्तवना हुने कृषकहरुलाई १७ हजार पाँच सय र सहभागिलाई १४ हजार चार सय रुपैया नगद पुरस्कार वितरण गरिएको थियो ।
खाद्यान्न, दलहन, तरकारी, आलु, फलफुल, माछा र बिबिध समूहमा प्रथम, दितृय, तितृय र सान्तवना हुने एकएक जना कृषकलाई क्रमश नगद एक हजार, सात सय, पाँच सय र तिन सय रुपैयाका दरले पुरस्कृत गरिएको बागबानि विकास अधिकृत भोजबहादुर थापाले जानकारी दिनुभयो ।
अधिकृत थापाका अनुसार प्रर्दशनीमा सहभागिता जनाएका १४४ जना कृषकहरुलाई प्रोत्साहनका लागि नगद एकएक सय रुपैयाका दरले वितरण गरिएको थियो । तिन दिनसम्म सञ्चालन भएको प्रर्दशनीमा १९२ जना कृषकहरु सहभागि भएका थिए । कृषकमा प्रतीस्पर्धी भावनाको विकास गराउने र प्रोत्साहन गर्ने उद्देश्यले प्रर्दशनीको आयोजना गरेको बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, बरिष्ठ कृषि विकास अधिकृत रिजाल, बागबानि विकास अधिकृत थापा लगायतले उत्कृष्ट हुने कृषकलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्