सरकार स्थानीय निकायको निर्बाचनको गृहकार्यमा छ ः सहायकमन्त्री बिराज बिष्ट
सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ ५ गते ।
संघिय मामिला तथा स्थानीय विकास सहयाक मन्त्री बिराज बिष्टले सरकारले स्थानीय निकायको निर्वाचन गराउन गृहकार्य गरिरहेको बताउनु भएको छ ।
राप्रपा नेपालले बेनीमा मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सो पार्टीका केन्द्रिय सदस्य समेत रहनुभएका सहायक मन्त्री बिष्ट स्थानीय निकायको निर्वाचन गराउने तयारी भैरहेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयलो दिएको निर्देशन अनुसार नयाँ संबिधानमा भएको ब्यवस्था अनुसार स्थानीय निकायको निर्वाचन गराउन मन्त्रालय र निर्वाचन आयोगले आवश्यक गृहकार्य गरेको सहायक मन्त्री बिष्टले बताउनुभयो ।
उहाँले भुकम्प प्रभावित जिल्लामा छिट्टैनै पहिलो चरणमा स्थानीय निकायको निर्वाचन गराउने मन्त्रालय र निर्वाचन आयोगको योजना रहेको जानकारी गराउनुभयो । स्थानीय निकाय जनप्रतिनिधि बिहीन हुँदा विकास, शुषासन, उत्तरदायी शाषन प्रणालीमा दिर्घकालीन असर परेको र भ्रष्ट्राचार मौलाएको सहायक मन्त्री बिष्टको भनाई छ ।
फर्जी उपभोक्ता समिति बनाउने, लक्षित बर्गको बजेट दुरुपयोग र भ्रष्ट्राचार नियन्त्रणका लागि मन्त्रालयले बिशेष अभियान चलाएको उहाँले बताउनुभयो । कार्यकर्ता भेटघाटमा बोल्दै राष्ट्रिय दलित उत्थान संघका केन्द्रिय अध्यक्ष ऋषिवावु परियारले विकासका लागि पछाडि पारिएका बर्ग र समुदायलाई गरिबीबाट उठाउनुपर्ने बताउनुभयो ।
राप्रपा नेपाल म्याग्दीका अध्यक्ष पहलबहादुर खत्रीको अध्यक्षता र सचिव गब्य परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सहायक मन्त्री बिष्ट र राप्रपाका नेताहरुले बुधबार बेनीमा हुन लागेको दलित उत्थान संघ म्याग्दीको अधिवेशन उद्घाटनका लागि म्याग्दी आउनुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्