म्याग्दीको दोस्रो आवधिक जिल्ला विकास योजना तर्जुमा सुरु
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
म्याग्दी,माघ ४ गते ।
म्याग्दीको दोस्रो आवधिक जिल्ला विकास योजना तर्जुमा कार्यशाला गोष्ठी सोमवार देखि बेनीमा सुरु भएको छ । आगमी आव २०७३/०७४ देखि २०७७/०७८ सम्मको समग्र जिल्लाको सामाजिक तथा आर्थिक विकास लागि योजना निर्माण गर्न कार्य सुरु गरिएको हो ।
जिल्लाका सरोकारवाला निकायहरुको सहभागितामा आर्थिक,सामाजिक,सांस्कृतिक तथा भौतिक विकासलाई समेटीएको आगमी पाँच वर्षको स्पष्ट मार्गचित्र सहितको योजना निर्माण गर्ने प्रकृया सुरु भएको जिविस म्याग्दीले जनाएको छ । जिल्ला विकास समितिको आयोजनमा सरु भएको दुइदिने गोष्ठीमा जिल्लाका सरोकारवाला निकायहरुको सहभागिता रहेको छ ।

गोष्ठीको उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जिल्लाको वास्तविकतालाई आधार मानेर तयार पारिएका योजनाहरुको कार्यान्वयन गर्न सहज हुने भएकाले यसतर्फ सवैको ध्यान पुग्नुपर्नेमा बताउनुभयो । प्रजिअ पाठकले आवधिक योजनाले समग्र जिल्लाको विकासका लागि मार्गदर्शन प्रदान गर्ने भएकाले योजना निर्माणको चरणमा सवै पक्षको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिनुभएको छ । अव बन्ने दोस्रो आवधिक योजनाले जिल्लाको स्रोतसाधनको अधिकतम परिचालन गरी समृद्ध जिल्ला बनाउने लक्ष्य लिनुपर्ने प्रजिअ पाठकको भनाई थियो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी चिरन्जीवि पौडेलले आवधिक जिल्ला विकास योजनाले जिल्लाको समग्र विकासका लागि आधारशिला खडा गर्ने बताउनुभयो । उहाँले आवधिक योजनाको जगमा टेकेर नै वार्षिक योजनाहरु निर्माण हुने भएकाले योजना तर्जुमा गर्दा सवै सरोकारवाला निकायहरुले ध्यान दिनुपर्ने बताउनुभयो । उद्घाटन कार्यक्रमको संचालन जिविस म्याग्दीका सूचना अधिकृत पदम भण्डारीले गर्नुभएको थियो भने स्वागत जिल्ला इन्जिनियर प्रमुख ओमबहादुर केसीले गर्नुभएको थियो ।

गोष्ठीमा राजनीतिक दल, सुरक्षा निकाय विषयगत कार्यालयका प्रमुखहरु, पत्रकार, नागरिक समाज , स्थानीय गैसस लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागीता रहेको छ । पहिलो दिनको गोष्ठीबाट राजनीतिक दलका प्रतिनिधिहरु संयोजक रहने गरी पाँचवटा विषयगत समितिहरु गठन गरिएको छ ।
आर्थिक विकास समितिको संयोजकमा नेपाली काँग्रेसका माधवप्रसाद रेग्मी,जनसंख्या तथा सामाजिक विकास समितिमा एकिकृत नेकपा माओबादीका चन्द्रवहादुर घिमिरे, भौतिक तथा विकास पूर्वाधार समितिमा नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ संयोजक रहनुभएको छ ।
त्यसै गरी संस्थागत,क्षमता,वित्तिय व्यवस्थापन तथा श्रोत परिचालन समितिको संयोजकमा राप्रपाका एकेन्द्र रावल र वन,वातावरण तथा विपद् व्यवस्थापन समितिमा राप्रपा नेपालका पहलवहादुर खत्रीलाई संयोजकको जिम्मेवारी दिइएको छ । विषयगत समितिको सदस्यहरुमा जिल्ला स्थिती विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवम् प्रतिनिधिहरु रहने जिविस म्याग्दीका सूचना अधिकृत पदम भण्डारीले जानकारी दिनुभयो ।
गठन भएका विषयगत समितिहरुले आगमी चारमहिना सम्म बिभिन्न चरणमा जिल्ला स्थित सरोकारवाला निकायहरुसँग छलफल,तथ्याङक संकलन तथा सुझावहरु लिने छन् । गोष्ठीमा योजना विद विश्वदेव भट्टराईले सहजिकरण गर्नुभएको थियो । परामर्शदाताको सहयोगमा आवधिक जिल्ला विकास योजना निर्माण गर्न थालिएको हो ।
यस अधि पहिलो आवधिक जिल्ला विकास योजना २०५९ देखि २०६५ सम्मका लागि बनेको थियो भने त्यसपछिका समया राजनीतिक अस्थिरताका कारण समयमै आवधिक जिल्ला विकास योजना निर्माण हुन सकेको थिएन । अव बन्ने आवधिक जिल्ला विकास योजना आव २०७३/०७४ लागू हुने जिविसले जनाएको छ ।


प्रतिक्रिया राख्नुहोस्