घलेम्दी जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा (फोटोफिचर)

विकल्प न्यूज/बेनी
मंसिर ९ गते । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधिन साढे पाँच मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत आयोजना निर्माण अन्तीमचरणमा पुगेको छ । आयोजनाले चैत मसान्त भित्र परिक्षण उत्पादन गर्ने लक्ष्यका साथ निर्माणलाई तिव्र पारेको छ ।

आयोजनाको पूर्वाधार निर्माणको करिव ९० प्रतिशत सम्पन्न भएको घलेम्दी हाइड्रो लिमिटेडका कम्पनी सचिव लक्ष्मीनिधी रिजाल(विमल)ले जानकारी दिनुभयो । इन्टेक,सुरुङ,पेनस्टक पाइप जडान र विद्युत गृह निर्माणको काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । इन्टेकको काम ९५ प्रतिशत सकिएको छ । सुरुङको फिनिसिङको काम भइरहेको छ । विद्युत गृह निर्माण तिव्ररुपमा भइरहेको कम्पनी सचिव रिजालले बताउनुभयो । विद्युत गृहको निर्माण पछि भारतीय प्राविधिकहरु आएर इलोक्ट्रोमेकानिकल जडान गर्ने उहाँले बताउनुभयो । भूकम्प र नाकाबन्दीका कारण आयोजना समयमै सम्पन्न गर्न कठिनाई भएको उहाँको भनाई छ । जिल्लाका उद्योगी व्यवसायीहरुको लगानीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो । आयोजना सम्पन्न भएपछि म्याग्दीमा उर्जा क्षेत्रमा लगानीको विश्वास जाग्ने घलेम्दी हाइड्रो लिमिटेडका सञ्चालक सदस्य राजेश शाक्यले बताउनुभयो । करिब एकअर्व १५ करोड लागतमा अयोजना सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । शनिवार जिल्लाका पत्रकार,लगानीकर्ता र उद्योगी व्यवसायीहरुले आयोजनाको स्थलगत अवलोकन गरेका छन् । विसं २०७१ बाट निर्माण थालिएको आयोजनाको मुख्य ड्याम, बालुवा थिग्राउन पोखरी बनाउने, बाँधदेखि पोखरीसम्म नहर निर्माणको काम सकिएको छ । सुरुङ हुँदै ल्ययाइएको घलेम्दीखोलाको पानीलाई १५० मिटरको उचाइबाट पावरहाउसमा खसालेर विद्युत उत्पादन गरिनेछ । सम्झौताअनुसार आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत प्राधिकरणले खरिद गर्नेछ । वार्षिक रु साढे १३ करोड बराबरको विद्युत खरिद गर्ने प्राधिकरणले वर्षायाममा चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत खरिद गर्ने जनाइएको छ ।