बेनीमा “सरसफाई अभियान” बुलेटीन बिमोचन
विकल्प न्यूज /बेनी
म्याग्दी,पुस २८ गते ।
खानेपानी, सरसफाई तथा स्वच्छताको क्षेत्रलाई समटेर प्रकाशित गरिएको ‘सरसफाई अभियान’ नामक बुलेटीन मंगलबार एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको छ ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक,स्थानीय विकास अधिकारी चिरञ्जीवि पौडेल र वास सल्लाहकार थरेन्द्र पौडेलले संयुक्त रुपमा बुलेटीनको विमोचन गर्नुभएको थियो ।
बुलेटीनमा खानेपानी, सरसफाई तथा स्वच्छताको क्षेत्रलाई आधार मानेर लेख,रचना र विचारहरुलाई समेटिएको छ ।
जिविस अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको सहयोगमा वास पत्रकार मञ्चले बुलेटीनको प्रकाशन गरेको हो । बुलेटीन मार्फत जिल्लाको खानेपानी र सरसफाईका क्षेत्रमा भएका उपलब्धीहरुलाई संस्थागत गरी थप प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गरीएको छ ।

कार्यक्रममा मन्तब्य व्यक्त गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले जिल्लाले सञ्चालन गरेको सरसफाई र स्वच्छताको अभियानलाई सार्थक रुपमा सफल पार्न सञ्चार क्षेत्रको अहम भूमिका हुने बताउनुभयो । उहाँले आगमी दिनहरुमा पनि यस क्षेत्रमा पत्रकारको भूमिका सकरात्मक हुने अपेक्षा व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा स्थानीय विकास अधिकारी पौडेलले खानेपानी,सरसफाई र स्वच्छताको क्षेत्रमा म्याग्दीका पत्रकारहरुको सहयोग र जागरुकताले अभियानहरु सफल हुँदै गएको बताउनुभयो ।
विमोचन कार्यक्रमा नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ एकिकृत नेकपा माओबादीका अध्यक्ष चन्द्रवहादुर घिमिरेले जिल्लामा सञ्चालन भएको सरसफाई अभियानलाई सफल पार्नका लागि पत्रकारहरुको भूमिका सकरात्मक भएको विचार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय म्याग्दीका प्रमुख ईञ्जिनियर शेखरचन्द्र केसी, जिविस अन्तरगतको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका फोकल पर्सन राजेन्द्र आचार्य,गैसस म्याग्दीका अध्यक्ष हरीप्रसाद पौडेल र मञ्चका पुर्व अध्यक्ष घनश्याम खड्काले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमा जिल्ला स्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो । वास पत्रकार मञ्चका अध्यक्ष ठाकुरप्रसाद आचार्यको अध्यक्षता, सचिव मालती खत्रीको सञ्चालन र उपाध्यक्ष गोपाल छन्त्यालको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्