वास पत्रकार मञ्चको अध्यक्षमा आचार्य
सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस २८ गते ।
खानेपानी, सरसफाई तथा स्वच्छता पत्रकार मञ्च म्याग्दीको अध्यक्षमा ठाकुरप्रसाद आचार्य निर्वाचित हुनुभएको छ ।
खानेपानी, सरसफाई तथा स्वास्थ्य क्षेत्रलाई आधार बनाएर समाचार लेखन गर्दै आएका पत्रकारहरुले स्थापना गरेको संस्थाको मंगलबार बेनीमा भएको प्रारम्भिक साधारण सभाले स्थानीय नवविकल्प साप्ताहीक पत्रिकाका सम्पादक आचार्यको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

सर्वसम्मत रुपमा निर्वाचित कार्यसमितिको उपाध्यक्षमा रेडियो म्याग्दीका गोपाल छन्त्याल, सचिवमा कारोबार दैनिकका मालती खत्री, कोषाध्यक्षमा राससका कमल खत्री र सहसचिवमा रुप्से दैनिकका प्रताप बानियाँ रहनुभएको निर्वाचन समितिका संयोजक सन्तोष गौतमले जानकारी दिनुभयो ।
यसैगरी समितिको सदस्यहरुमा रुप्से दैनिकका गोरखनाथ सुवेदी, हिमालय टिभीका सन्दिप खत्री, म्याग्दी सञ्चार साप्ताहीकका सुर्दशनकुमार श्रेष्ठ र सम्बृद्ध साप्ताहीकका निर्मल खत्री रहनुभएको छ । प्रारम्भीक साधारणसभाको अवसरमा जिविस अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको सहयोगमा मञ्चले प्रकाशन गरेको ‘सरसफाई अभियान’ नामक बुलेटिनको पनि बिमोचन गरिएको थियो ।

कार्यक्रममा मन्तब्य व्यक्त गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले पत्रकारीता निष्पक्ष र स्वतन्त्र तथा सृजनशिल हुनुपर्नेमा जोड दिनुभयो । उहाँले जिल्लाको सरसफाई र स्वच्छताका क्षेत्रमा वास पत्रकार म्याग्दीले खेलेको भूमिका महात्पूर्ण भएको बताउँदै आगमी दिनहरुमा पनि यस क्षेत्रमा पत्रकारको भूमिका सकरात्मक हुने अपेक्षा व्यक्त गर्नुभयो ।
म्याग्दीका स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले आफूले नेताको दवाव र काम नगरेको योजनाको काम भएको भनेर भुक्तानी नदिने बताउदै यस्तो अवस्थामा सञ्चार जगतको सहयोगको अपेक्षा गर्नुभयो । उहाँले खानेपानी,सरसफाई र स्वच्छताको क्षेत्रमा भएका उपलब्धीहरुलाई संस्थागत गर्नुका साथै थप प्रवद्र्धन गर्न बुलेटिनले सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय म्याग्दीका प्रमुख ईञ्जिनियर शेखरचन्द्र केसी, जिविस अन्तरगतको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका फोकल पर्सन राजेन्द्र आचार्य,गैसस म्याग्दीका अध्यक्ष हरीप्रसाद पौडेल र मञ्चका पुर्व अध्यक्ष घनश्याम खड्काले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । वास पत्रकार मञ्चका अध्यक्ष ठाकुरप्रसाद आचार्यको अध्यक्षता, सचिव मालती खत्रीको सञ्चालन र उपाध्यक्ष गोपाल छन्त्यालको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्