कुरा नबुझेर दुःख पाए पखेरबासीले
सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस २६ गते ।
म्याग्दीको बरंजा गाविस २ र ३ पखेरका बासिन्दाले बगर ठेक्कामा लगाएको बिरोधमा आईतबार जिविस कार्यालयमा डेलीगेशन आएका छन् ।
तातोपानीबाट गाडी रिजर्भ गरेर बिहान दश बजे बेनी आएका पखेरका एक सय जना भन्दा बढी बासिन्दाहरु दिनभर जिविस परिसरमा भेला भएका थिए । जिविसले यस वर्ष चार लाख ५० हजार रुपैयाँमा बरंजा गाविसको पखेर क्षेत्रमा पर्ने म्याग्दी नदी किनारको बगरबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन्का लागि ठेकेदारसंग सम्झौता गरेको थियो ।

आफ्नो क्षेत्रमा पर्ने बगरबाट अरुलाई नदीजन्य बस्तु उत्खनन् गर्न दिन नहुने, स्थानीयलेनै बगर उत्खनन गर्न पाउनुपर्ने र विद्यालय सञ्चालनका लागि सहयोग गर्नुपर्ने माग राख्दै डेलीगेशन आएको टोलीका संयोजक नेपाली काँग्रेसका नेता कृष्ण केसीले बताउनुभयो ।
स्थानीयबासीले यसअघि उक्त बगरको ढुंगा, गिट्टी, बालुवा बेचेर पखेर प्राबीका निजी स्रोतका शिक्षकलाई तलब खुवाउदै आएका थिए । ठेक्कामा दिएपछि नदीजन्य बस्तुको मूल्य पनि बढी भएको केसीले बताउनुभयो ।
तातोपानी, पखेर जोड्ने झोलुङ्गे पुल निर्माणका क्रममा स्थानीय उपभोक्ता समितिले निशूल्क रुपमा ढुंगा, गिट्टी, बालुवा निकालेर उपभोग गरेपछि ठेकेदार र गाउँलेको बिवाद जिविससम्म आएको हो । गाउँलेहरुले नदीको बगर सार्वजनीक सम्पत्ती हो र यसको आम्दानी सरकारको हुन्छ भन्ने नबुझ्दा डेलीगेशन आएर दुख पाएको बताइएको छ ।
स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले पखेरका बासिन्दाहरुलाई बगर उत्खनन् सम्बन्धि ऐन नियमहरुको बारेमा जानकारी र सम्झाई बुझाई गरेर पठाएको बताउनुभयो । उहाँले पुल निर्माणका लागि ढुंगा, गिट्टी र बालुवा खरिद गर्ने ईस्टीमेटमै उल्लेख भएको बताउनुभयो ।
यसैगरी नदीको बगर, खोला व्यक्तिको नहुने र गाउँको नजिकै भनेर व्यक्तिको स्वामित्व हुन्न, कर नतिरीकन प्राकृतिक स्रोत उपभोग गर्न पाईदैन भनेर सम्झाएर पठाएको स्थानीय विकास अधिकारी पौडेलले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्