म्याग्दी भगवतीको सामुदायीक वनमा खरि उत्खनन गर्न दिएको आरोपमा उपभोक्ता समिति विरुद्ध मुद्दा दर्ता
सन्तोष गौतम /विकल्प
म्याग्दी,पुस २४ गते ।
म्याग्दीको भगवतीमा अबैध तरिकाले सामुदायीक वन क्षेत्रमा खरि उत्खनन् गर्न दिएको आरोपमा जिल्ला वन कार्यालयले उपभोक्ता समूह विरुद्ध मुद्दा दर्ता गराएको छ ।
राखु भगवती गाविस ७ स्थित खलतलेत्रो सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष सहित १० जना विरुद्ध जिल्ला अदालत म्याग्दीमा सामुदायीक वन क्षेत्रमा अवैध रुपमा खरि ढुंगा उत्खनन गर्न दिएको अभियोगमा मुद्दा दर्ता भएको हो ।
उपभोक्ता समितिका अध्यक्ष ओबिन्द्रराज शर्मा सहितका १० जना पदाधिकारीहरुबाट वनको हानी नोक्सानी पुराएको कसुरमा तिन लाख रुपैया दण्ड जरिवाना तथा एक वर्षको कैदको माग दावी सहित मुद्दा दायर गरिएको बेग ईलाका वन कार्यालयका सहायक वन अधिकृत लोमनाथ तिम्सिनाले जानकारी दिनुभयो ।
वन कार्यालयले बिहीबार जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो । उपभोक्ता समिति विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी र अबैध तरिकाले खरि उत्खनन भएको सम्बन्धमा सञ्चार माध्यमहरुमा समाचार प्रकाशन प्रशारण भएपछि वन कार्यालयले कारबाही प्रक्रिया बढाएको थियो ।
खानी तथा भुगर्भ विभागको स्वीकृती लिएपनि वन सम्बन्धि ऐन नियम अनुसारको प्रक्रिया पुरा नगरेको र वातावरणीय क्षत्ती पुगेको सहायक वन अधिकृत तिम्सिनाले बताउनुभयो । सो स्थानबाट चितवनको गौतम खनिज उद्योगले एक वर्षसम्म खरिढुङ्गाको उत्खनन गरेको थियो ।
कम्पनीले भारतीय गोल्छा कम्पनीसँग साझेदारीमा खानी सञ्चालन गरेको थियो । खानीबाट खरि उत्खनन् हुन थालेपछि करिब ६० घरधुरीले उपभोग गर्ने खानेपानीको मुहानमा लेदो मिसीएको पानी आएको थियो । खानी उत्खनन्कर्ता कम्पनीले वन क्षेत्रमा जथाभावी सडक खनेको र वन मासेर खरी उत्खनन् गरेकाले पहिरो तथा भुक्षयको खतरा बढेको थियो ।
कम्पनीले खानी सञ्चालनपुर्व गरेको वातावरणीय सर्वेक्षण र स्थानीयसंग गरेको सम्झौताको पालना नगरी प्रकृतिको दोहन गर्दा वातावरणीय असर देखिन थालेको भन्दै स्थानीयले बिरोध गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्