सरकारका वारेमा पार्टीमा कुनै विवाद छैन ः उपाध्यक्ष ज्ञवाली

प्रताप बानियाँ /विकल्प
म्याग्दी, पुस २४ गते ।
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान सरकारका वारेमा पार्टी भित्र कुनै विवाद नभएको बताउनुभएको छ । उपाध्यक्ष ज्ञवालीले पार्टी भित्र सवैको सर्वसहमतिका आधारमा अध्यक्षलाई प्रधानमन्त्री बनाएको बताउँदै पार्टी भित्र विवाद छ भन्नु हल्ला मात्र भएको बताउनुभयो ।
उपाध्यक्ष ज्ञवालीले नेपाल एउटै देशसँग मात्रै परनिर्भर हुनुपर्दा अहिले नाकाबन्दीको समस्या झेल्नुपरेको बताएका बताउनुभयो । प्रेस चौतारी म्याग्दी शाखाले शुक्रबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भारतसँग मात्रै निर्भर पर्नुले समस्या झेल्न बाध्य हुनुपरेको बताउनुभयो ।

IMG_1553(1)
भारतबाहेक अन्य देशसँग नेपालले पारवहन सन्धी सम्झौता नगर्दा वर्तमान समस्याको शिकार हुनु परिरहेको बताउँदै उहाँले अन्य देशसँग पनि दुई देशीय व्यापार सन्धी सम्झौता गर्नुपर्ने बताए । तराईमा भैरहेको मधेशी मोर्चाको आन्दोलन आवश्यक नरहेको भन्दै उपाध्यक्ष ज्ञवालीले मोर्चासँग निरन्तर वार्ता भैरहेकाले अब केही दिनभित्रै आन्दोलन रोकिने र नाका खुल्ने सकारात्मक सङ्केत देखिएको बताउनुभयो ।
उहाँले वीरगञ्ज–रक्सौल नाकाबाहेक अन्य नाकाबाट इन्धनलगायतका सामानहरु आयात भैरहेकोले अब नाकाबन्दी धेरै समय नलम्बिने बताउनुभयो । हरेक नेपाली जनता एउटा न एउटा उत्पादनसँग जोडिनुपर्ने बताउँदै व्यापारको विविधिकरण गर्नुपर्ने उहाँको भनाई थियो । उत्तरको छिमेकी देशसँग पनि नाका खोल्ने र व्यापारका लागि दुई देशबीच सम्झौता गर्न स्थिति सकारात्मक बन्दै गएको बताउनुभयो ।
एमाले नेता ज्ञवालीले हालै जारी भएको संविधान अन्य देशहरुको तुलनामा उत्कृष्ट रहेको भन्दै नेपाली जनताले आफ्नै विवेक प्रयोग गरेर बनाएको संविधान कार्यान्वयनका लागि सबै दलहरु मिल्नुपर्ने बताउनुभयो । विगत लामो समयपछि नेपाली जनता र देशले नयाँ संविधान पाएको भन्दै उनले संविधानले सबै वर्गका जनताको हक र अधिकार सुनिश्चित गरेकोमा जोड दिए ।
नेता ज्ञवालीले सरकार निर्माण गर्दा खासगरी प्रधानमन्त्रीको चुनावमा प्रतिपक्षी पार्टी र विदेशीको चलेखेल चलेको आरोप समेत लगाउनुभयो । उहाँले केपी ओलीलाई प्रधानमन्त्री हुन नदिनका लागि विभिन्न षडयन्त्र भएको थियो भन्दै सरकारले जनताका पक्षमा काम गरेर देखाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य मुकुन्द न्यापाने, छविलाल विश्वकर्मा, पोलिट व्युरो सदस्य गणेश तिमिल्सीना, वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्र थापा, जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, सचिव बालकृष्ण सुवेदीलगायतको सहभागीता रहेको थियो । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष मालती खत्रीको अध्यक्षता र सचिव प्रताप बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहसचिव कमल बानियाँले स्वागत गरेका थिए । शुक्रवार बेनीमा धौलागिरि अंचल स्तरीय कार्यकता प्रशिक्षण कार्यक्रममा एमाले नेताहरुको टोली म्याग्दी आएको हो ।