२३ पुस, काठमाडौं ।
एमाओवादी सचिव एवं पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ को उपचारमा उनको परिवारलाई आर्थिक संकट परेको छ । थाइल्याण्डमा उपचार गराइरहेका वर्षमान सभामुख ओनसरी घर्तीका श्रीमान् हुन् ।
जण्डिसबाट पीडित वर्षमानको बैंककस्थित समितिवेज अस्पतालमा एक महिनादेखि उपचार भैरहेको छ । उनलाई भेट्न सभामुख ओनसरी घर्तीसहित एमाओवादी अध्यक्ष प्रचण्ड, उनकी श्रीमती सीता, छोरा प्रकाश र ल्हारक्याल लामा बैंकक गएका छन् ।
प्रचण्डले वर्षमानको उपचारका लागि सभामुख घर्तीलाई सरकारले सहयोग नगरे पनि पार्टीले सहयोग गर्ने आश्वासन दिँदै आएका छन् ।
तर, परिवारका एक सदस्यले भने सबैले आश्वासन मात्रै दिने गरेको तर, आर्थिक सहयोग कसैले नगरेको बताए ।
‘सबैले सल्लाह मात्रै दिन्छन् तर सहयोग गर्दैनन्,’ अनन्तको पारिवारका एक सदस्यले भने, ‘अब त ऋण माग्ने ठाउँ पनि सकियो ।’
तर, कृषिमन्त्रीसमेत रहेका एमाओवादी कोषाध्यक्ष हरिबोल गजुरेलले भने वर्षमानको उपचारमा पार्टीले सहयोग गरिरहेको र गरिरहने बताए ।
‘पार्टीले सहयोग नगरेको भन्ने होइन, अध्यक्ष आफै बैंकक जानु भा’छ त्यो पनि सहयोग नै हो,’ गजुरेलले अनलाइनखबरसँग भने, ‘उहाँ (वर्षमान)लाई पार्टीले पहिले पनि सहयोग गर्दै आएको हो । अहिले पनि गरिरहेको छ ।’ बैंकक जानुअघि वर्षमानको उपचार भारतको नयाँदिल्लीमा गरिएको थियो ।
एमाओवादी लडाकुका डेपुटी कमाण्डरसमेत भइसकेका वर्षमान युद्धकालदेखि नै जण्डिस रोगबाट पीडित थिए । गत भदौ २८ गते पुनः स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको थियो ।
सुमेरुमा उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि गत कात्तिक २३ गते नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो । मेदान्तमा केही दिन उपचार गरी उनलाई गत
बैंककस्थित समितिवेज अस्पतालको शैयामा अनन्त
मंसिर ७ गते काठमाडौं फर्काएर फेरि बैंकक लगिएको हो । अहिले उनको स्वास्थ्य अस्थिर छ । ‘केही सुधार भएको जस्तो पनि देखिन्छ, तर फेरि बल्झिहाल्छ,’ अनन्तको पारिवारिक स्रोतले भन्यो, ‘सन्तोष गर्ने ठाउँ छैन ।’
खर्चको स्रोत : सभामुखको पेश्की र सापटी
सभामुख ओनसरी घर्तीले आफ्ना पतिको उपचारका लागि संसद सचिवालयबाट पेश्की रकम लिँदै आएकी छन् । ऋण र सापटी लिएर पनि तत्कालका लागि काम चलाइएको पारिवारिक स्रोत बताउँछ ।
सभामुख घर्तीले पटक-पटक गरी १९ लाख रुपैयाँभन्दा बढी रकम पेश्की बुझिसकेको संसद सचिवालय स्रोत बतायो ।
तर, सभामुखका प्रेस सल्लाहकार बासुदेव शर्मा (बबिन)ले घर्तीले आफ्नो मासिक तलबबाट कट्टा हुनेगरी पेश्की लिए पनि कति लिएको भन्ने जानकारी आफूलाई नभएको अनलाइनखबरलाई बताए ।
पतिको स्वास्थ्य स्थितिबारे जानकारी लिन सभामुख घर्ती सात दिन व्यवस्थापिका संसदको बैठक स्थगन गरेर सोमबार प्रचण्डसँगै बैंकक गएकी छिन् ।
डाक्टरसँग जानकारी
यसैवीच एमाओवादी अध्यक्ष प्रचण्डले बैंककस्थित अस्पतालमा विहीबार बिहान वर्षमानको उपचारमा संलग्न डाक्टरहरुसँग विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
रगतमा देखिएको बिलिरुबिनको मात्रा केही कम भएको छ । विहीबार फोक्सोको जाँच गरिने डाक्टरलाई उद्धृत गर्दै प्रचण्डको सचिवालयले जानकारी दिएको छ । उनलाई चाँडो नेपाल ल्याइने पनि प्रचण्डको सचिवालयले जनाएको छ ।