सरकार आफै ढल्छ ः काँग्रेस नेता सिटौला
विकल्प न्यूज /बेनी
पुस २३ गते ।
नेपाली काँग्रेसका महामन्त्री कृष्ण सिटौलाले नयाँ संविधान कार्यान्वयन गर्न राजनीतिक दलहरुका विच सहमति र एकता आवश्यक रहेको बताउनुभएको छ । नयाँ संविधान कार्यान्वयन गर्नका लागि बर्तमान सरकारले बृहत्तर राष्ट्रिय एकताको वातावरण तयार पार्नुपर्ने महामन्त्री सिटौलाको भनाई थियो । उहाँले चाँढै नयाँ संविधानको कार्यान्वयन गरेर मुलुक आर्थिक विकास तर्फ अगाडी बढ्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।
अहिले मधेश आन्दोलनका कारण मुलुक जटिल अवस्थामा रहेकाले काँग्रेस,एमाले र माओबादीको सहमति र सहकार्यबाट मात्र बर्तमान समस्याको समाधान हुने महामन्त्री सिटौले बताउनुभयो । मधेश केन्द्रित दलहरुले उठाएका मागहरुलाई संविधान संशोधन मार्फत सम्बोधन हुने भएकाले तराईको समस्या अव चाँढै समाधान हुने उहाँको भनाई थियो । मधेशवादी दलहरु सँग सम्बाद र छलफल भइरहेकाले छिट्ै ठोस निष्कर्षमा पुग्ने सिटौलाले अपेक्षा व्यक्त गर्नुभयो ।

प्रेस युनियन म्याग्दीले विहिबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री सिटौलाले मुख्य दलहरुविचको एकताले मात्रै नयाँ संविधान जारी भएकाले संविधानको कार्यान्वयनको तहमा पनि दलहरुविचमा राष्ट्रिय एकताको आबश्यकता रहेको बताउनुभयो । राष्ट्रिय एकता विना संविधानको कार्यान्वयन संभव नभएको उहाँको भनाई थियो । काँग्रेसको अगुवाईमा लोकतान्त्रीक संविधान जारी भएकाले यसलाई कार्यान्वयन गर्ने प्रमुख दायित्व पनि काँग्रेसकै भएको उहाँले बताउनुभयो ।
नयाँ संविधान सँग सम्बन्धित धेरै ऐननियमहरुको निर्माण गर्नुपर्ने भएकाले तिन ठूला दलहरुका विच सहमति र सहकार्य अनिवार्य भएको उहाँको भनाई थियो । संविधानमा भएका कमीकमजोरीहरु आवश्यकता अनुसार संशोधन मार्फत सुधार गर्दै अगाडी बढ्न नेपाली काँग्रेस सधै तयार रहेको महामन्त्री सिटौलाले बताउनुभयो । संविधान जारी पछि पनि यसको कार्यान्वयनका लागि धेरै कार्यहरु गर्न बाँकी भएकाले सरकार एक्लैले सम्भव नभएको उहाँको भनाई थियो ।
नेपाली काँग्रेस सहमति र सहकार्यको पक्षमा हुँदाहुँदै पनि वर्तमान सरकारले सहमतिको वातावरण सिर्जना गर्न नसकेको उहाँको आरोप लगाउनुभयो । भूकम्प पछिको पूननिर्माण कार्यलाई नेपाली काँग्रेसले गम्भिर रुपमा लिएको बताउँदै महामन्त्री सिटौलाले भन्नुभयो, ‘सरकार यस विषयमा गम्भिर हुन सकेको छैन ।’
सरकारका कामकारबाही प्रति काँग्रेस सन्तुष्ट नभएपनि सरकार ढाल्ने खेलमा नलागेको बताउँदै उहाँले सरकार आफ्नै कमजोरीका कारण धेरै समय नटिक्ने उहाँको भनाइ थियो ।
भूकम्प पीडितहरुलाई राहतको व्यवस्था गर्न सरकारले नसकेको प्रति उहाँले दुःख व्यक्त गर्दै भन्ुभयो ‘‘चिसोबाट भूकम्पपीडितहरुले ज्यान गुमाउनुपर्ने अबस्था आउनु मुलुकका लागि दुर्भाग्य हो , सहमतीमै पुननिर्माण प्राधिकरणको विधेयक पास भएको छ, पीडितलाई राहत पुग्ने गरि राहत र पुनिर्माणको कामलाई अगाडि बढाउनुपर्छ, उहाँले भन्नुभयो ।’’
काँग्रेसको महाधिवेसनको शिलसिलामा म्याग्दी आउनुभएका नेता सिटौलाले बेनीमा जिल्ला स्तरीय अगुवा कार्यकर्ताहरुसंग भेटघाट समेत गर्नुभएको छ । भेटघाटका क्रममा आगमी अधिबेशनका विषयमा कार्यकर्ताहरुले जिज्ञासाहरु राखेका थिए । प्रेश युनियन म्याग्दीका सभापती गोपाल छन्त्यालको अध्यक्षता, सहसचिब रोजीना मल्लको स्वागत र सचिब निर्मल खत्रीको सञ्चालनमा पत्रकार सम्पन्न सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्